झाडापखाला नियन्त्रणका लागि स्वास्थ्यकर्मीको टोली घरघरमा

सप्तरी, १६ कार्तिक । सप्तरीको छिन्नमस्ता गाउँपालिका–५ लोखरम मुसहरी टोलमा फैलिएको झाडापखालाको प्रकोप नियन्त्रणका लागि स्वास्थ्यकर्मीको टोली सक्रिय बनेको छ ।
स्थानिय बासिन्दामध्ये एकै परिवारका तीन जनाको मृत्यु भएपछि स्वास्थ्यकर्मी टोलीले आइतबारदेखि बस्तीमा घरघर पुगेर पखालाको नमुना सङ्कलन सुरु गरेको हो ।
कोचाबखारी स्वास्थ्य चौकी लोखरमका प्रमुख आलोक रञ्जन झाले पखालाको नमुना सङ्कलन गरी जाँचका लागि प्रयोगशालामा पठाउने तयारी भइरहेको जानकारी दिए । उनले नमुना परीक्षणको प्रतिवेदन आएपछि उपचार र नियन्त्रणका थप रणनीति तय गरिने बताए ।
हालसम्म १५ जनाको पखालाको नमुना सङ्कलन गरिएको र स्थानीय बासिन्दालाई स्वच्छ खानेपानी, सरसफाइ र सचेतनाबारे सुझाव दिइएको स्वास्थ्य चौकीले जनाएको छ ।
झाडापखाला फैलिन नदिन स्थानीयरूपमा सचेतना अभियान पनि सञ्चालन भइरहेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


