सप्तरी, १६ कार्तिक । सप्तरीको राजगढ गाउँपालिका–६ बर्दाहीमा एक किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

सिरहाको भगवानपुर गाउँपालिका–२ गमरिहा घर भएकी १५ वर्षीया नेहा मण्डल मामा सुनिल मण्डलको घरमा बस्दै आएकी थिइन् ।

आइतबार बिहान करिब ८ बजे उनी घरभित्र बाँसको बलोमा सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको प्रहरी चौकी झुटकीले जनाएको छ ।

घटनाबारे सूचना प्राप्त भएपछि प्रहरी नायब निरीक्षकको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो । टोलीले घटनास्थल सुरक्षित गरी प्रारम्भिक अनुसन्धान सुरु गरेको प्रहरी चौकी झुटकीका अधिकारीले बताएका छन् ।

यसैबीच, थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय कल्याणपुरबाट प्रहरी निरीक्षकको नेतृत्वमा एसओसीओ टोली समेत घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए ।

प्रहरीले मृत्युको कारण खुल्न बाँकी रहेको र विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ ।