सप्तरी, १४ कार्तिक । कोशी ब्यारेज क्षेत्रमा निरन्तर वर्षा जारी रहँदा नदीको पानीको बहाव तीव्र रूपमा बढ्दै गएको छ ।

शुक्रबार दिउँसोसम्म कोशी ब्यारेजमा पानीको वहाव १ लाख १ सय ८५ क्यूसेक्स पुगेको छ । यो क्रमशः बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

हालको बहाव अझै सामान्य सीमाभित्र रहेको भए पनि आगामी केही घण्टामा पानीको स्तर तीव्र रूपमा वृद्धि हुने पूर्वानुमान गरिएको छ ।अविरल वर्षाका कारण मधेश प्रदेशका सप्तरी, सिरहा लगायत तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

विभागका अनुसार आज दिनभर र रातिसम्म पनि भारी वर्षा पर्ने सम्भावना रहेकाले नदी आसपासका बस्तीहरूमा बाढी जोखिम बढेको छ ।
स्थानीय प्रशासन र जलस्रोत निकायहरूले सर्वसाधारणलाई आधिकारिक सूचनाहरू नियमित रूपमा पालना गर्न र अनावश्यक रूपमा नदी किनार र तटीय क्षेत्रमा नजान आग्रह गरेका छन् ।

ब्यारेज क्षेत्रमा हाल वर्षा पहिलेभन्दा अझ बढी भइरहेको र आसपासका क्षेत्रहरूमा पनि निरन्तर पानी परेको स्थानीयहरू बताउँछन् । नदीको सतह तीव्र रूपमा बढ्दै गएकोले नदी किनारका बासिन्दालाई सुरक्षित स्थानतर्फ सर्ने तयारी गर्न समेत सरोकारवाला निकायहरूले सुझाव दिएका छन् ।