मिथिलामा अक्षय नवमीको अवसरमा अमलाको बोट मुनी भोज

जनकपुरधाम, १३ कार्तिक । मिथिला क्षेत्रमा बिहीबार अक्षय नवमीको अवसरमा परम्परागत रूपमा मनाइने अमलाको बोट मुनी भोज उल्लासपूर्वक सम्पन्न भएको छ ।
हिन्दू धर्मावलम्बीहरूका लागि धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिले विशेष महत्व राख्ने यो दिन जनकपुरधामको रामजानकी दुल्हा दुल्ही भगवान कुट्टी परिसरमा सामूहिक भोजको आयोजना गरिएको हो ।
कार्यक्रमको आयोजक मध्येका चन्दन रायले परम्परागत संस्कार जगेर्ना गर्ने उद्देश्यका साथ विगत १० वर्षदेखि यो कार्यक्रम निरन्तर चलिरहेको बताए ।
उनले भने, ‘अमलाको बोट मुनी भोजन मिथिलाको प्राचीन धार्मिक र सांस्कृतिक परम्परा हो । पछिल्ला वर्षहरूमा अमलाका बोटहरू हराउँदै गएका कारण यो संस्कार लोप हुने जोखिममा छ । यसैले आजको सामूहिक भोजले हाम्रो परम्परालाई जोगाउने सन्देश दिन्छ ।’
रायका अनुसार सहभागी स्थानीय युवाहरू, समाजसेवी, धार्मिक व्यक्तित्व र नागरिक समाजका प्रतिनिधिहरू हुन् । यसले सांस्कृतिक चेतना जगाउन सक्रिय भूमिका निर्वाह गरिरहेका छन् । उनले भने, ‘यो प्रयास निरन्तर रहोस् ताकि हाम्रो धार्मिक र सांस्कृतिक सम्पदा भावी पुस्तासम्म सुरक्षित रहोस् ।’
कार्यक्रममा उपस्थित सहभागीहरूले अमलाको बोटको संरक्षण र यससँग जोडिएको धार्मिक संस्कृति जोगाउन सबैलाई सचेत रहन आह्वान गरे ।
यस प्रकारका सामूहिक भोजले समुदायमा एकताको भावना र सांस्कृतिक जागरूकता बढाउने काम गर्दै आएको आयोजकको भनाइ छ ।




तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

