जानकी मन्दिर प्राङ्गणमा फुटेका टाइल्सको अनुगमन

जनकपुरधाम, १३ कार्तिक । जनकपुरधामको ऐतिहासिक जानकी मन्दिर प्राङ्गणमा केही टाइल्स फुटेको अवस्थामा छ । उपमहानगरपालिका प्रमुख मनोज कुमार साह सहितको टोलीले बिहीबार स्थलमा पुगेर प्रत्यक्ष अनुगमन गरेका छन् ।

अनुगमनको क्रममा मेयर साहले भवन संरचना र प्राङ्गणको सुरक्षा एवम् सौन्दर्य कायम राख्न आवश्यक मर्मत–सम्भार तुरुन्त गर्नुपर्ने बताए ।उनले भने, ‘जानकी मन्दिर धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले विशेष महत्वको स्थल हो । यसप्रकारको क्षति दीर्घकालीन रूपमा संरक्षणको दृष्टिले हानिकारक हुन सक्ने भएकाले हामीले तत्काल सुधारका काम सुरु गर्नेछौं ।’

उपमहानगरपालिकाका इन्जिनियर तथा निर्माण टोलीले फुटेका टाइल्सको मात्रा, कारण र प्रभावित क्षेत्रको विश्लेषण गरी मर्मतका लागि विस्तृत योजना तयार गर्ने मेयर साहले जानकारी दिए । उनले भने, ‘स्थलको संरचना र मौलिकता कायम राख्दै नयाँ टाइल्स राख्ने र आवश्यक स्थानमा सुरक्षा प्रबन्ध गर्ने काम प्राथमिकतामा राखिएको छ ।’

अनुगमनका क्रममा मेयर साहले मन्दिर परिसरमा सफाइ, यातायात व्यवस्थापन र आगन्तुकका लागि सुरक्षित मार्ग निर्माणमा पनि ध्यान दिनुपर्ने कुरा औंल्याए । उनका अनुसार आगामी दिनमा मन्दिर परिसरमा नियमित निरीक्षण र मर्मत व्यवस्थापनलाई संस्थागत रूप दिने काम भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


