जनकपुरधाम, १३ कार्तिक । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनल र नेपालका लागि बेलायती राजदूतावासको विकास कार्यक्रम प्रमुख पौलिन सिनन नेतृत्वको टोलीबीच बिहीबार जनकपुरधाममा शिष्टाचार भेटघाट भएको छ ।

भेटका क्रममा मुख्यमन्त्री सोनलले प्रदेश सरकारका प्रमुख प्राथमिकता क्षेत्र शिक्षा, स्वास्थ्य र कृषि रहेको उल्लेख गर्दै ती क्षेत्रको दिगो विकासका लागि विकास साझेदारहरूको सहयोग अपरिहार्य भएको बताए ।

उनले मधेश प्रदेशको समग्र समृद्धिका लागि बेलायती दूतावासजस्ता अन्तर्राष्ट्रिय साझेदारहरूसँग सहकार्य र साझेदारी गर्न सरकार तयार रहेको पनि स्पष्ट पारे ।

त्यस क्रममा बेलायती राजदूतावासकी विकास कार्यक्रम प्रमुख सिननले मधेश प्रदेशमा सञ्चालित विकास प्रयासप्रति दूतावासको समर्थन रहने बताइन् । उनले सम्भावित सहकार्यका क्षेत्रमा दुवै पक्षबीच थप संवाद र समन्वय बढाउने इच्छा व्यक्त गरिन् ।

भेटमा प्रदेश सरकारका उच्च अधिकारीहरू र बेलायती राजदूतावासका अन्य प्रतिनिधिहरूको पनि उपस्थिती रहेको थियो ।