सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको तयारीका लागि सर्वपक्षीय बैठक सम्पन्न

जनकपुरधाम, १३ कार्तिक । जनकपुरधाममा प्रत्येक वर्ष धुमधाम साथ मनाइने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको तयारी सुरु भएको छ । विवाहपञ्चमी महोत्सवको तयारीका लागि बिहीबार जानकी मन्दिरमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।
आगामी मंसिर ९ गतेको विवाहपञ्चमी महोत्सवलाई भव्य रुपमा मनाउनका लागि तयारीमा जुटन मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले आग्रह गरेका छन् ।
उनले विवाहपञ्चमीमा विभिन्न स्थानबाट पाहुनाहरु आउने भएकोले नगरवासीलाई सरसफाइमा लाग्न आग्रह गरे । सर्वपक्षीय बैठकवाट विभिन्न उपसमितिहरु प्नि गठन गरिएको छ । शान्ती शुरक्षा व्यवस्थापन उपसमिति, प्रचार प्रसार उपसमिति, बजार व्यवस्थापन उपसमिति, रंगभूमीमा गेट पण्डाल व्यवस्थापन उपसमिति, यातायात व्यवस्थापन उपसमिति, ट्राफिक व्यवस्थापन, स्वास्थ्य उपचार लगायतका विभिन्न उपसमितिहरु गठन गरिएको महन्थ दासले बताए ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले विवाहपञ्चमी महोत्सवलाई भव्य र सभ्य बनाउन सबै जनकपुरवासीलाई आ–आफ्नो तर्फबाट सहयोग र योगदान गर्न आग्रह गरेका छन् ।
सर्वपक्षीय बैठकमा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार साह, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी उमेश कुमार दाहाल, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुँवर, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल प्रसाद साह, जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक सूर्य बहादुर शाही, नेपाल विद्युत प्राधिकरण जनकपुर वितरण केन्द्रका प्रमुख सुनिल कुमार महतो, एनप्याब्सन जनकपुरधामका नगर अध्यक्ष दिपक कुमार ठाकुर, गौ संरक्षण मञ्चका अध्यक्ष जगदिश महासेठलगायतकाहरुको उपस्थिती रहेको थियो ।

विवाहपञ्चमी महोत्सव अन्तर्गत पहिलो दिन मंसिर ४ गते नगर दर्शन, दोस्रो दिन ५ गते फूलबारी लिला, तेस्रो दिन ६ गते धनुष यज्ञ, चौथो दिन ७ गते तिलकोत्सव, पाँचौ दिन ८ गते मटकोर, छठौँ दिन ९ गते सिताराम स्वयम्वर तथा विवाह महोत्सव र सातौँ दिन १० गते रामकलेवा गरी विधिवत् रुपमा विवाह पञ्चमीको समापन गरिने छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


