जनकपुरधाम, ९ कार्तिक । मिथिलाञ्चलको प्रमुख आस्थामय पर्व छठको दोस्रो दिन आइतबार श्रद्धा र भक्तिपूर्वक खरना विधि सम्पन्न गरिएको छ । जनकपुरधामसहित सम्पूर्ण मधेश प्रदेशका घरघरमा व्रतालु महिलाहरूले खरनाको पूजा सम्पन्न गरी निराहार व्रत आरम्भ गरेका हुन् ।

खरनाको अवसरमा व्रतालुहरूले सूर्यदेवको आराधना गर्दै परम्परागत रूपमा चामल, गहुँको रोटी, खीर, सरसोंको साग र मुलासहितको प्रसाद तयार गरी पूजा गरे । साँझपख सूर्यदेवलाई दूध, खीर र गहुँको रोटी अर्पण गरी प्रसाद ग्रहण गरेपछि व्रतालुहरूले ‘एक थोपा पानी पनि नपिउने’ धार्मिक नियम अनुसार निराहार व्रत सुरु गरेका छन् ।

पण्डित राधा कान्त झाले भने, ‘खरना व्रतको अत्यन्त महत्त्वपूर्ण चरण हो । यसले आत्म–संयम र शुद्धताको अभ्यास गराउँछ । यो आत्म–शुद्धि र आत्म–अनुशासनको प्रतीक हो ।’

छठको अवसरमा जनकपुरधामका धनुषसागर, गंगासागरलगायतका पोखरीहरू आकर्षक रूपमा सजिएका छन् । धार्मिक समितिहरू र स्थानीय समाजसेवी संस्थाहरूले घाट सरसफाइ, बत्ती व्यवस्था र सुरक्षाका विशेष तयारी गरेका छन् ।

व्रतालु शिलादेवी साहका अनुसार खरना सम्पन्न भएपछि अब पूर्ण निराहार व्रत सुरु भएको छ । यो व्रत आस्था, संयम र श्रद्धाको परीक्षा हो । सूर्यदेवले सन्तान, स्वास्थ्य र समृद्धिको वरदान दिनुहुन्छ भन्ने विश्वास छ ।

मधेशका गाउँ शहरमा आज रातभर छठ गीत, भजन र सांस्कृतिक कार्यक्रमहरूको गुञ्जन सुनिएको छ । महिलाहरू परम्परागत पहिरनमा सजिएर नदी र पोखरी किनारमा पूजा–अर्चनामा तल्लीन देखिएका छन् ।

सोमबार साँझ व्रतधारीहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नेछन् भने मंगलबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिई चार दिन लामो छठ पर्व विधिवत् रूपमा सम्पन्न गरिनेछ ।