सर्लाही, ६ कार्तिक । सर्लाहीको मलङ्गवा नगरपालिका–४ मा एक अज्ञात गर्भवती महिला अचेत अवस्थामा फेला परेकी छन् । हाल ती महिला प्रादेशिक अस्पताल मलङ्गवाको स्त्रीरोग कक्षमा उपचाररत रहेको अस्पताल स्रोतले जनाएको छ ।

करीब १५ दिनअघि ती महिला घरधनी राजकुमार चौधरीको घरमा भाडामा बस्न आएकी थिइन् । चौधरीका अनुसार ती महिला गर्भवती हुनुका साथै चम्की रोगबाट समेत पीडित देखिएकी थिइन् । स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएपछि उनलाई स्थानीयहरूले नै अस्पताल पुर्याएका थिए ।

अस्पतालका वरिष्ठ चिकित्सक डा. अविनाश सिंहका अनुसार बिरामीको ठेगाना र अभिभावक नखुलेका कारण उपचारमा कानुनी र औपचारिक कठिनाइ भइरहेको छ । उनले भने, ‘नैतिक दृष्टिले बिरामीलाई उपचारविना छाड्न सकिँदैन । तर, कानुनी पक्षका कारण केही जटिलता छ ।’

प्रादेशिक अस्पताल मलङ्गवाले ती महिलाको पहिचान खुलाउन सर्वसाधारणलाई आग्रह गरेको छ । अस्पताल प्रशासनले उनलाई चिन्ने वा उनका आफन्तलाई तत्काल सम्पर्क गर्न अनुरोध गरेको छ ।