जनकपुरधाम, ६ कार्तिक । छठ पर्वलाई लक्षित गर्दै लायन्स क्लब अफ जनकपुरधाम राजधानीले छठ ब्रतालु महिलाहरुलाई पूजासामग्री वितरण गरेको छ ।

लायन्स क्लबका अध्यक्षको नेतृत्वमा भएको कार्यक्रममा ब्रतालु महिलाहरुलाई दउरा, सुपा, फलफूल, धूप–दीप, कपडा लगायतका आवश्यक पूजासामग्री वितरण गरिएको हो । क्लबले प्रत्येक वर्ष सामाजिक तथा धार्मिक पर्वहरूमा सहयोगी भूमिका निर्वाह गर्दै आएको जनाएको छ ।

कार्यक्रममा बोल्दै क्लबका पदाधिकारीहरूले छठ पर्व नेपाली समाजको साझा सांस्कृतिक पहिचान भएको बताउँदै यस्तो पर्वमा सहयोगका माध्यमबाट समाजमा एकता र सौहार्द बढ्ने विश्वास व्यक्त गरे ।

स्थानीय ब्रतालु महिलाहरूले क्लबप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले धार्मिक आस्था र सामुदायिक भावना थप बलियो बन्ने बताएका छन् ।

छठ पर्व सूर्य उपासना र प्रकृतिप्रतिको कृतज्ञताको प्रतीक मानिन्छ । यस अवसरमा विशेष गरी महिलाहरू चार दिनसम्म कठोर व्रत बस्दै अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्छन् ।