रौतहट, ६ कार्तिक । आम जनता पार्टी नेपालका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले नेपालमा भएका विभिन्न ऐतिहासिक आन्दोलनहरू मध्ये जेनजी आन्दोलनले सत्य र न्यायको पक्षमा निर्णायक मोड दिएको बताएका छन् ।

हिन्दुहरूको महान् पर्व दीपावली, तिहार र लोक पर्व छठको अवसरमा रौतहटको कटहरिया नगरपालिका–५ मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उनले भने, ‘देश र संसारमा राणा विरोधी आन्दोलनदेखि माओवादी जनआन्दोलन र मधेश आन्दोलनसम्म धेरै संघर्ष भए । तर, नेपालको दुई दिनको जेनजी आन्दोलनले युवाको जीत र भ्रष्टाचारको अन्त्यको सङ्केत दिएको छ ।’

पूर्वमन्त्री साहले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले जेनजी आन्दोलनमा गरेको दमनलाई ‘इतिहासकै गल्ती’ भनेका छन् । उनले भने, ‘ओलीले जनआन्दोलनलाई दमन गरेर आफूलाई हत्यारा र भ्रष्टाचारको प्रतीक बनाएका छन् । जनताको रगतमाथि टिकेको शासन कहिल्यै टिक्दैन,’ उनले भने ।

साहले जेनजी आन्दोलनलाई दलतन्त्र र लुटतन्त्र अन्त्य गर्ने नयाँ राजनीतिक युगको शुरुवातका रूपमा व्याख्या गरे । उनले तीन वर्षअघि पार्टीगत टिकट अस्वीकार गरी स्वतन्त्र रूपमा जनताको मतबाट प्रतिनिधित्व हासिल गरेको प्रसङ्ग स्मरण गर्दै भने, ‘जनताको विश्वास नै मेरो शक्ति हो । म जनतासँगको वाचा पुरा गर्न सदनदेखि सडकसम्म लड्दै आएको छु ।’

पूर्वमन्त्री साहले भन्सारमा हुने अनियमितता, वैदेशिक रोजगारका समस्या, सहकारी पीडित, किसान र सुकुम्बासीका हकहितका विषयमा निरन्तर आवाज उठाउँदै आएको दाबी गरे । ‘यो लडाइँ अझै पूरा भएको छैन, षड्यन्त्र जारी छ । तर, सत्य अन्ततः जित्नेछ,’ उनले भने ।

उनले आगामी दिनमा पनि जनताको हक र न्यायका लागि निरन्तर संघर्ष जारी रहने बताउँदै युवाहरूलाई देश परिवर्तनका मार्गमा सक्रिय रूपमा अघि बढ्न आह्वान गरे ।