मिथिलाञ्चलमा गोधन कुट्ने पर्व मनाइयो

जनकपुरधाम, ६ कार्तिक । मधेससहित सम्पूर्ण मिथिलाञ्चलमा आज परम्परागत गोधन कुट्ने पर्व धार्मिक आस्था र सांस्कृतिक उल्लासका साथ मनाइएको छ ।
बिहीबार बिहानैदेखि गाउँगाउँका चौबाटा, गल्ली–टोल र घरआँगनमा महिलाहरूको भीड देखिएको थियो। मिथिलानीहरूले बिहानै उठेर गोबर र केराउको दाना ओखलमा कुट्दै गोधन कुट्ने परम्परा निभाएका थिए ।
पिपरा गाउँपालिका–३ का स्थानीय मनोज दसका अनुसार प्रत्येक वर्ष भाइटीकाको भोलिपल्ट यो पर्व मनाउने परम्परा रहिआएको हो ।
‘महिलाहरू बिहानै गाई–भैंसीको गोबर, केराउ र माटो मिसाएर गोधन कुट्छन् । यो कृषिप्रधान जीवनशैलीप्रतिको कृतज्ञताको प्रतीक हो,’ उनले भने ।
अघिल्लो दिन राति मिथिलाका घरघरमा गाई–भैंसीको गोठमा गोबरबाट गोधन अर्थात् माता लक्ष्मी र भगवान् विष्णुको प्रतीकात्मक प्रतिमा बनाइन्छ । परम्पराअनुसार राति गाई–भैंसीले त्यो गोधन कुल्चेपछि बाँकी भागलाई बिहान केराउ मिसाएर कुट्ने चलन छ । यसरी कुटिएको मिश्रणलाई ‘गोधन कुट्ने’ भनिन्छ । यसलाई धन, समृद्धि र उर्वरता सँग जोडिन्छ ।
गोधन कुट्ने पर्वको अर्को विशेषता भनेको पारिवारिक स्नेह र रमाइलोपन हो । महिलाहरूले बिहान गोधन कुटेपछि दाजुभाइलाई केराउको दाना (बजरी) खुवाउँछन् भने भाइहरूले दिदीबहिनीलाई कोसेली वा दक्षिणा दिने चलन छ ।
यस क्रममा दिदीबहिनीहरूले रमाइलो पारामा ‘बजरी खइहा भैया बजर होइहा, दहेज न दिहा दरिद्र होइहा’ भन्ने लोककथन पनि दोर्होयाउने गर्छन् । यसको अर्थ केराउ खाएर बलियो बन, दान नदिए दरिद्र बन भन्ने प्रतीकात्मक सन्देश दिनु हो ।
गोधन कुट्ने पर्व मिथिलाको सांस्कृतिक पहिचान र नारीको श्रम तथा आस्थाको उत्सव हो । यस पर्वले परिवारमा माया, स्नेह र एकताको भावना बलियो बनाउने विश्वास गरिन्छ ।
साँझपख गाउँका विभिन्न स्थानमा गीत, ठट्ठा र नाचगानसहित सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिन्छ । यसले मिथिला संस्कृतिको मौलिक सौन्दर्य झल्काउँछ ।




तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


