सप्तरी, २ कार्तिक । सप्तरीको बोदेबर्साईन नगरपालिका–८ रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको शनिबार राति गोली प्रहारबाट मृत्यु भएको छ ।

अज्ञात व्यक्तिले मन्दिरका ७० वर्षीय पुजारी रामदुलार साहमाथि गोली चलाउँदा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीका अनुसार पुजारी साह शनिबार राति करिब २ः१५ बजे आफ्नै कुट्टी अगाडिको बाटोमा हिँडिरहेको बेला अज्ञात व्यक्तिले पछाडिबाट गोली प्रहार गरेका थिए । ढाडको पछाडिबाट हानिएको गोली नाईटोको छेउमा लागेको र घटनास्थलमै उनको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनास्थलबाट दुई थान गोलीका खोका फेला परेका छन् । घटना पछि गोली चलाउने व्यक्ति फरार भएको र उनको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

‘हत्या गर्ने व्यक्ति वा समूहबारे अहिलेसम्म ठ्याक्कै जानकारी हुन सकेको छैन,’ एसपी केसीले भने, ‘प्रहरीले घटनाबारे गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ ।’

घटनापछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली पुगेर अनुसन्धान थालिएको छ । भारतसँग सिमाना नजिक रहेको उक्त क्षेत्रमा आवतजावत कडा निगरानीमा राखिएको प्रहरीको भनाइ छ ।

‘सिमानाक्षेत्रमा चेकजाँच कडा पारिएको छ,’ एसपी केसीले भने, ‘घटनामा संलग्न व्यक्ति पक्राउका लागि सीमावर्ती इलाकामा समेत खोजतलास जारी छ ।’

स्थानीय बासिन्दाका अनुसार साह विगत लामो समयदेखि कबिर बाबा मन्दिरमा पुजारीका रूपमा सेवा गर्दै आएका थिए । उनी विगत केही वर्षदेखि मन्दिर परिसरकै कुट्टीमा एक्लै बस्दै आएका थिए ।

राति कोही व्यक्तिले गोली चलाएको आवाज आएपछि स्थानीयहरू घटनास्थल पुगेका थिए । तर, त्यतिबेलासम्म पुजारी साहको मृत्यु भइसकेको थियो ।

हत्या किन र कसले गर्यो भन्नेबारे अझै खुल्न नसकेकाले स्थानीयहरू त्रसित बनेका छन् । केहीले व्यक्तिगत विवाद वा चोरीका प्रयासका कारण घटना भएको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ