जनकपुरधाम, १ कार्तिक । जनकपुरधाम उद्योग वाणिज्य संघले सुनचाँदी बजारमा व्यवसायीहरूलाई लक्षित गरी गरिएको प्रहरी दमन र आक्रमणको विरोधमा शनिबारदेखि सम्पूर्ण व्यवसायीलाई आफ्नो पसलमा कालो झण्डा झुण्ड्याउन आग्रह गरेको छ ।

संघका महासचिव फुलदेव पण्डितले जारी गरेको सूचनामा भनिएको छ, ‘असोज ३१ गते शुक्रबार जनकपुरधामको सुनचाँदी बजारमा प्रहरीद्वारा व्यवसायीहरू माथि गरिएको आक्रमण र दमनको घटनाले व्यावसायिक समुदाय आक्रोशित बनेको छ । समस्या समाधान नहुन्जेलसम्म विरोध र संघर्ष जारी रहनेछ ।’

सूचनामा उद्योग वाणिज्य संघले सबै व्यापारी र उद्योगीलाई पसलमा कालो झण्डा झुण्ड्याएर विरोधमा ऐक्यबद्धता जनाउन आग्रह गरेको छ । संघले यो कदम प्रहरीको एकपक्षीय कार्यशैलीविरुद्ध शान्तिपूर्ण प्रतिवादको रूपमा अघि सारेको जनाएको छ ।

शुक्रबार साँझ जनकपुरधाम उपमहानगरपालिका–५ स्थित सञ्जय पायल ज्वेलर्समा प्रहरी टोलीले जबर्जस्ती पसलभित्र प्रवेश गरी चाँदीका गरगहना लैजान खोज्दा विवाद उत्पन्न भएको थियो । सोही क्रममा प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमको नेतृत्वमा गएको टोलीले व्यवसायीमाथि लाठीचार्ज गरी उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्रकुमार भण्डारीलाई गम्भीर घाइते बनाएको आरोप संघले लगाएको छ ।

अध्यक्ष भण्डारी अहिले प्रादेशिक अस्पताल जनकपुरधामको आइसीयूमा उपचाररत छन् ।

संघले घटनाको निष्पक्ष छानबिन गरी दोषी प्रहरी अधिकारीहरूमाथि तत्काल कारबाही गर्न, व्यापारीको सुरक्षा सुनिश्चित गर्न र प्रहरीबाट हुने मनोमानी अन्त्य गर्न सरकारसँग माग गरेको छ ।

संघले चेतावनी दिंदै भनेको छ, ‘यदि व्यापारीमाथिको दमनमा संलग्न प्रहरी अधिकारीहरूलाई कारबाही नगरी माग बेवास्ता गरियो भने संघ चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुनेछ ।’