जनकपुरधाम, ३० असोज । जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेश समितिको अध्यक्ष पदमा बालकिशोर प्रसाद यादव निर्विरोध चयन भएका छन् । असोज २७ गतेदेखि सुरु भएको प्रदेश अधिवेशनमा अध्यक्ष, मुख्यसचिव र कोषाध्यक्ष पदका उम्मेदवारहरूमध्ये सबै एकल उम्मेदवार भएकाले उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।

अध्यक्ष पदमा बालकिशोर प्रसाद यादव, मुख्यसचिवमा ज्ञानेन्द्र कुमार यादव र कोषाध्यक्षमा विष्णु प्रसाद साह एकल उम्मेदवारका रूपमा उठेका थिए । अधिवेशनको बन्द सत्रमा उपस्थित प्रतिनिधिहरूले यी पदाधिकारीहरूलाई निर्विरोध चयन गर्ने प्रस्तावलाई समर्थन गरेपछि औपचारिक रूपमा अध्यक्ष मण्डलले उनीहरूको कार्यकाल पुष्टि गरेको छ ।

यसैबीच, अध्यक्ष पदका अर्का दावेदार योगेन्द्र राय यादवले सर्लाही जिल्लाका प्रतिनिधिहरूको चयन र प्रदेशमा मनोनयन गरिने पाँच प्रतिशत प्रतिनिधिको प्रक्रियामा धाँधली भएको आरोप लगाउँदै निर्वाचन प्रक्रिया बहिस्कार गरेका थिए । उनका विरोधका कारण केही समय नेतृत्व छनोटमा असमझदारी देखिएको थियो ।

उपाध्यक्ष, सचिव र सदस्य पदका लागि पनि उम्मेदवारी प्रक्रियामा प्रतिस्पर्धा देखियो । ३ जना उपाध्यक्षका लागि सात, ३ जना सचिवका लागि चार र ४२ सदस्य पदका लागि ७२ जनाले उम्मेदवारी दिएका थिए । तर, अधिवेशनको बन्द सत्रमा उपस्थित प्रतिनिधिहरूले कार्यसमितिलाई पूर्णता दिने अधिकार अध्यक्ष मण्डललाई सुम्पिएपछि अधिवेशन औपचारिक रूपमा सम्पन्न भएको छ ।

पार्टी स्रोतका अनुसार अध्यक्ष यादवको निर्विरोध चयन र बाँकी पदाधिकारीको नियुक्ति प्रदेश समितिलाई स्थिरता प्रदान गर्ने प्रयासको भाग भएको छ । तर, केही सदस्यहरूले प्रतिनिधि छनोट प्रक्रियामा पारदर्शिताको कमी भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

अधिवेशनको लामो विवाद र बहिस्कारका बाबजुद पार्टीले मधेश प्रदेशमा नेतृत्वको संरचना औपचारिक रूपमा पूरा गरेको छ । आगामी गतिविधिहरूको रणनीति निर्माणमा केन्द्रित हुने तयारीमा रहेको बताइएको छ ।