मुख्यमन्त्री सोनलको पहिलो हस्ताक्षर ‘हेल्लो सिएम’मा, जनताको गुनासो सुन्ने कार्यक्रमलाई निरन्तरता

जनकपुरधाम, ३० असोज । मधेश प्रदेशका चौथो मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार ‘सोनल’ ले शपथ ग्रहणसँगै पदभार सम्हालेका छन् ।
पदभार ग्रहण गरेपछि उनले जनतासँग प्रत्यक्ष संवाद र गुनासो सुन्न सुरु गरिएको ‘हेल्लो सिएम’ कार्यक्रमलाई निरन्तरता दिने निर्णय गर्दै आफ्नो कार्यकालको पहिलो हस्ताक्षर त्यसैमा गरेका हुन् ।
जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालयमा बिहीबार पदभार ग्रहण समारोह सम्पन्न भएको थियो । पदभार ग्रहण गर्दै मुख्यमन्त्री सोनलले भने, ‘हाम्रो सरकार जनताको भावना, अपेक्षा र आवाजप्रति उत्तरदायी रहनेछ । ‘हेल्लो सिएम’ जनताको मन सुन्ने माध्यम हो । त्यसैले यसलाई निरन्तरता दिनु मेरो पहिलो निर्णय हो ।’
मुख्यमन्त्री सोनलले पदभार ग्रहणसँगै पहिलो हस्ताक्षर ‘हेल्लो सिएम’ कार्यक्रम निरन्तरतामा गरेका हुन् । उनले भने, ‘जनताको आवाज प्रत्यक्ष रूपमा सरकारसम्म पुर्याउने यो कार्यक्रम प्रभावकारी छ । अब यसलाई अझ सशक्त बनाइनेछ ताकि नागरिकको गुनासो तुरुन्त सम्बोधन गर्न सकियोस् ।’
‘हेल्लो सिएम’ कार्यक्रम प्रदेश सरकारले सुरु गरेको जनसरोकार केन्द्रित पहल हो । यसमार्फत नागरिकले आफ्ना समस्या, गुनासो र सुझाव सीधा मुख्यमन्त्री कार्यालयसम्म पुर्याउन सक्छन् ।
शहिद गेटमा श्रद्धाञ्जली अर्पण
पदभार ग्रहणपछि मुख्यमन्त्री सोनल आफ्ना नवनियुक्त मन्त्रीहरूका साथ जनकपुरधामको मुजेलियास्थित शहिद गेट पुगे । त्यहाँ उनले स्वतन्त्रता, अधिकार र लोकतन्त्रका लागि ज्यान अर्पण गरेका शहिदहरूलाई माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरे ।

मुख्यमन्त्री सोनलले आफ्नो सरकार स्पष्ट दिशा र दृढ संकल्पका साथ अघि बढ्ने बताए । उनले भने, ‘यो सरकारमा कुनै अन्यौलता, हेलचक्राई वा लापरवाही हुँदैन । प्रत्येक निर्णय जनता र प्रदेशको हितमा हुनेछ ।’
सोनलले मन्त्रालयहरूको जिम्मेवारी चाँडै तोकिने जानकारी दिए । ‘बाँकी निर्णयहरू मन्त्रीपरिषद् बैठकबाट गरि सार्वजनिक गरिनेछ,’ उनले भने ।
मुख्यमन्त्री सोनलले जनताको भावनाको कदर, सुशासन र विकासलाई आफ्नो सरकारको तीन प्रमुख आधार बनाउने बताएका छन् ।
उनले संघीयताको मर्म अनुसार प्रदेश सरकारलाई जनमुखी, उत्तरदायी र जवाफदेही बनाउने प्रतिबद्धता पनि जनाए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


