संघीयता, सुशासन र प्रभावकारी सेवा प्रवाह पहिलो प्राथमिकता : मुख्यमन्त्री सोनल

जनकपुरधाम, ३० असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जितेन्द्र सोनार ‘सोनल’ मधेश प्रदेशका चौथो मुख्यमन्त्रीका रूपमा नियुक्त भएर बिहीबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालय जनकपुरधाममा आयोजित विशेष समारोहमा प्रदेश प्रमुख भण्डारीले सोनललाई पद तथा गोपनीयताको शपथ गराइन् । मुख्यमन्त्री सोनलले भोजपुरी भाषामा शपथ लिएका हुन् ।
सोनललाई ६ दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्रीको रूपमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम नियुक्त गरिएको हो ।

मुख्यमन्त्री सोनलले जनता समाजवादी पार्टी नेपालका १९ जना, जनमत पार्टीका १३ जना, नेकपा माओवादी केन्द्रका ९ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ८ जना, नेकपा (एकीकृत समाजवादी)का ७ जना र नागरिक उन्मुक्ति पार्टीका १ जना सांसदको समर्थनमा बहुमत प्राप्त गरेका छन् । यी ६ दलको समर्थनमा बनेको गठबन्धनले मधेश प्रदेशमा नयाँ सरकार गठन गरेको हो ।
सोनललाई हिजो साँझ औपचारिक रूपमा मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।
मुख्यमन्त्री सोनलको सिफारिसमा प्रदेश प्रमुख भण्डारीले दुई जना विना विभागीय मन्त्रीहरूलाई पनि शपथ गराइन् । शपथ लिनेमा जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादव र नेकपा (एकीकृत समाजवादी) का नेता कनिष पटेल रहेका छन् । स्रोतका अनुसार मन्त्रीपरिषद् विस्तारका लागि सहयात्री दलहरूसँग छलफल जारी छ । र, चाँडै अन्य मन्त्रीहरूको नाम टुंगो लगाइनेछ ।

शपथपछि मुख्यमन्त्री सोनलले आफ्नो पहिलो औपचारिक वक्तव्यमा भने, ‘जेनजी आन्दोलनले उठाएका सुशासन, समृद्धि र जनताका सेवा प्रवाहका मुद्दा नै मेरो सरकारको पहिलो प्राथमिकता हुनेछ ।’ उनले संघीयताको मर्म अनुसार प्रदेश सरकारलाई बलियो बनाउने प्रतिवद्धता पनि जनाए ।
सोनलका अनुसार विगतका सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिइनेछ र नयाँ कार्यसूचीमार्फत मधेसलाई विकास, पारदर्शिता र सामाजिक न्यायको दिशामा अघि बढाइनेछ ।
मुख्यमन्त्री सोनलले आफ्नो मन्तव्यमा संघीयताको स्थायित्व र प्रभावकारितामा जोड दिँदै भने, ‘संघीयता कागजमा मात्र नभई व्यवहारमा पनि सुदृढ बनाउनु हाम्रो जिम्मेवारी हो । अहिलेको गठबन्धन त्यसै उद्देश्यका लागि बनेको हो ।’
उनले प्रदेशका नागरिकलाई सहज र पारदर्शी सेवा प्रदान गर्न प्रशासनिक सुधार र प्रविधिमैत्री प्रणालीलाई प्राथमिकता दिने बताएका छन् ।

शपथग्रहण समारोहमा मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतीशकुमार सिंह पनि सहभागी थिए । उनले नवनियुक्त मुख्यमन्त्री सोनल र मन्त्रीद्वयलाई सफल कार्यकालका लागि शुभकामना दिएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


