जनस्वराज पार्टी हाललाई कुनै पनि राजनीतिक ध्रुवमा जाँदैन : निवर्तमान मुख्यमन्त्री सिंह

जनकपुरधाम, ३० असोज । मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंहले नवगठित जनस्वराज पार्टी हाललाई कुनै पनि राजनीतिक ध्रुवमा नजाने स्पष्ट पारेका छन् । जनकपुरधाममा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी अहिले तटस्थ रहने निर्णयमा रहेको जानकारी दिएका हुन् ।
सिंहले पछिल्लो समय मधेशमा राजनीतिक ध्रुवीकरण चुलिंदै गएको अवस्थामा जनस्वराज पार्टीले कुनै पक्षमा उभिनु सान्दर्भिक नहुने भन्दै तटस्थ भूमिकामा बस्ने निर्णय लिएको बताए । ‘अहिले सनाखत प्रक्रिया चलिरहेको छ । यस्तो संवेदनशील अवस्थामा हामी एकपक्षीय समर्थनमा जाने पक्षमा छैनौं,’ सिंहले भने, ‘तर, कोही पक्ष रचनात्मक, जनमुखी र सुशासनमुखी एजेन्डा लिएर आउँछ भने हामी त्यसको समर्थन गर्न तयार छौं ।’
सिंहले नेतृत्व सम्हालेको समयमा सरकारबाट भएका कामहरूको फेहरिस्त पनि सार्वजनिक गर्दै युवाहरूमा देखिएको असन्तुष्टि र आक्रोशप्रति सरकार गम्भीर हुनुपर्ने धारणा राखे । उनले युवाहरूका आकांक्षाहरू पूरा गर्न सशक्त नीतिगत निर्णय आवश्यक रहेको औंल्याए ।
‘हामीले आफ्नो कार्यकालमा मधेशको पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा केही सकारात्मक काम गर्ने प्रयास गरेका थियौं,’ उनले भने, ‘तर, त्यो पर्याप्त छैन । युवाहरूको आक्रोश बुझ्न जरुरी छ । सरकार अब जनताको आँखामा हेरेर काम गर्नुपर्ने बेला आएको छ ।’
उनले नेतृत्व गरेको नयाँ राजनीतिक दल ‘जनस्वराज पार्टी’ को उद्देश्य र मार्गदर्शन सिद्धान्तहरूबारे चर्चा गर्दै सिंहले यो पार्टी मधेशमा वैकल्पिक शक्ति बन्ने दाबी पनि गरे । ‘जनता अब विकल्प खोज्दैछन् । पुराना संरचनाबाट निराश भएका जनताले जनस्वराज पार्टीलाई एक आशाको रूपमा हेर्न थालिसकेका छन्,’ उनले भने ।
पत्रकार सम्मेलनमा प्रदेशसभा सदस्य त्रिभुवन साहले पनि बुधबार जनस्वराज पार्टीको पक्षमा सनाखत गरिसकेको जानकारी दिइयो । साह पूर्व जनमत पार्टीका नेता हुन् ।
सिंह र साह दुवै जना हालै मात्र जनमत पार्टी परित्याग गरी जनस्वराज पार्टीमा प्रवेश गरेका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


