मधेशमा नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान

जनकपुरधाम, २८ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले पदबाट दिएको राजीनामा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले स्वीकृत गरेकी छन् । यससँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ ।
प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १६९ को उपधारा (१०) को खण्ड (क) बमोजिम मुख्यमन्त्री सिंहको राजीनामा स्वीकृत गरिएको हो । त्यससँगै, संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया अघि बढाइएको छ ।
प्रदेश प्रमुख भण्डारीले मधेश प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई बुधबार साँझ ४ बजेभित्र मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेकी छन् ।
प्रदेश प्रमुखका निजामती सचिव शत्रुधन यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा १६९ उपधारा (१०) को खण्ड (क) बमोजिम मुख्यमन्त्री सिंहले दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गर्नुभएकोले संविधानको धारा १६८ उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई असोज २९ गते अपराह्न ४ बजेभित्र मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरिएको छ ।’

मुख्यमन्त्री सिंहको राजीनामासँगै मधेश प्रदेशको राजनीति पुनः नयाँ मोडमा प्रवेश गरेको छ । पछिल्ला केही सातादेखि सत्तारूढ गठबन्धनभित्र असन्तुष्टि बढ्दै गएको र विश्वासको मतको बहस तीव्र बन्दै गएको अवस्थामा सिंहले राजीनामा दिएका हुन् ।
सिंहले नेतृत्व गरेको सरकारमा नेकपा एमाले, नेपाली कांग्रेस, जनमत र लोसपा मुख्य साझेदार रहेका थिए । तर, आन्तरिक मतभेद र नयाँ सत्ता समीकरणबारे छलफल बढेपछि सत्ता परिवर्तनको सम्भावना बलियो बनेको थियो ।
प्रदेश प्रमुखको आह्वानपछि अब नयाँ मुख्यमन्त्रीका लागि प्रदेशसभाभित्र राजनीतिक दौडधुप तीव्र बनेको छ ।
संविधान अनुसार यदि दुई वा दुईभन्दा बढी दलको समर्थनमा कुनै सांसदले बहुमतको दाबी गर्न सके भने उनलाई मुख्यमन्त्री नियुक्त गरिनेछ । तर, सो समयमा कुनै पनि सदस्यले पर्याप्त समर्थन जुटाउन नसकेमा संविधानको अर्को प्रावधान अनुसार अर्को प्रक्रिया अघि बढ्नेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


