मुख्यमन्त्री सिंहको राजीनामा प्रदेश प्रमुख भण्डारीद्वारा स्वीकृत

जनकपुरधाम, २८ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको राजीनामा प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले स्वीकृत गरेकी छन् ।
प्रदेश प्रमुखको कार्यालयका सचिव शत्रुधन यादवद्वारा जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १६९ को उपधारा (१०) को खण्ड (क) बमोजिम मुख्यमन्त्री सिंहले दिएको राजीनामा स्वीकृत गरिएको हो ।
विज्ञप्तिमा संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्म मौजुदा मन्त्रिपरिषद्ले नै प्रदेश सरकारको कार्य सञ्चालन गर्ने उल्लेख छ ।
मुख्यमन्त्री सिंहको राजीनामासँगै मधेश प्रदेशमा पुनः राजनीतिक हलचल सुरु भएको छ । पछिल्ला केही हप्तादेखि प्रदेश सभामा विश्वासको मत, सत्तारूढ गठबन्धनभित्रको असहमति र नयाँ शक्ति समीकरणबारे तीव्र चर्चा चलिरहेको थियो ।

सिंहले गत वर्ष गठित सरकारको नेतृत्व गर्दै मधेश प्रदेशमा विभिन्न नीति तथा कार्यक्रम अघि सारेका थिए । तर, पछिल्ला राजनीतिक घटनाक्रमपछि उनले पद त्याग्ने निर्णय गरेका हुन् ।
प्रदेश प्रमुख कार्यालयले भने नयाँ सरकार गठनका लागि संविधान र कानुनी व्यवस्थाअनुसार आवश्यक प्रक्रिया अघि बढाइने जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

