मधेशको नेतृत्व लोसपाको स्वभाविक अधिकार हो : महन्थ ठाकुर

जनकपुरधाम, २८ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्त ठाकुरले मधेश प्रदेशको नेतृत्वमा लोसपाको स्वभाविक दाबी रहेको दाबी गरेका छन् ।
जनकपुरधामस्थित पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पूर्वसहमतिको उल्लंघन गर्दै उपेन्द्र यादवले लोसपालाई पन्छाएको आरोप लगाएका हुन् ।
‘बाराको उपनिर्वाचनअघि नै मधेशको नेतृत्व लोसपाले गर्ने सर्वपक्षीय सहमति भएको थियो,’ ठाकुरले भने, ‘तर, पछि उपेन्द्रजीले आफ्नो बोली फेरेर हामीलाई छल गरे ।’
उनका अनुसार सो सहमति तत्कालीन सत्ता गठबन्धनका प्रमुख घटकहरू नेपाली कांग्रेसका शेरबहादुर देउवा र माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा भएको थियो । ‘हामी अहिलेसम्म पनि त्यो सहमतिप्रति प्रतिबद्ध छौं,’ ठाकुरले थपे, ‘तर, उपेन्द्र यादवले देउवा र प्रचण्डकै अगाडि लोसपाले धोका दियो भनेर बोलेपछि उनीहरू रिसाएका छन् ।’
बाराको उपनिर्वाचनमा जितेन्द्र सोनलको नेतृत्वमा लोसपालाई उपयोग गरेर सत्ता समीकरण बनाउने काम उपेन्द्र यादवले गरे पनि पछि सबै सहमति तोडेको ठाकुरको भनाइ छ । ‘हामी हेर र प्रतिक्षा गरको स्थितिमा थियौं,’ उनले भने, ‘ठूला दलहरूले के गर्छन् भनेर हेर्दा हेर्दै लोसपालाई झुक्याइएको महसुस गर्यौं ।’
ठाकुरले हालको सुशिला कार्की नेतृत्वको सरकारलाई ‘नागा बाबा’ को संज्ञा दिँदै चर्को व्यंग्य गरेका छन् । ‘नागा बाबाले शरीरभरि खरानी घसेर सडकमा हिँड्दा जनताले ताली र नमस्कार गर्छन् । तर, त्यो श्रद्धा नभई परम्परा मात्र हो,’ उनले भने, ‘यस्तै सरकार अहिले देशमा बसेको छ । देखावटी र जनतालाई भ्रममा राख्ने ।’
उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै मधेश र मधेशी जनताको मुद्दालाई फेरि उपेक्षित तुल्याइएको गुनासो गरे । ‘मधेशको मुद्दा उठाउनेहरूकै हातबाट आज मधेश उपेक्षित भयो,’ ठाकुरले कटाक्ष गरे ।
कार्यक्रममा लोसपाका केन्द्रीय नेता, प्रदेश कमिटी सदस्य र सयौं कार्यकर्ताको उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


