मधेशका मुख्यमन्त्री सिंहले रोष्टमबाटै दिए राजीनामा

जनकपुरधाम, २८ असोज । मधेश प्रदेश सरकारको नेतृत्व गर्दै आएका मुख्यमन्त्री सतिश कुमार सिंहले मंगलबार मधेश प्रदेश सभामा रोष्टमबाटै औपचारिक रूपमा पदत्याग गरेका छन् ।
विश्वासको मत लिने क्रममा उनले मन्तव्य दिँदै रोष्टमबाटै आफ्नो राजीनामा घोषणा गरेका हुन् । सिंह मधेश प्रदेशका तेस्रो मुख्यमन्त्री थिए । तर, पछिल्ला केही महिना गठबन्धनभित्रको बढ्दो असहमतिले उनको पद संकटमा पार्दै आएको थियो ।
अन्ततः राजनीतिक दबाब चुलिँदै जाँदा उनले पदबाट हात झिक्ने निर्णय गरे । गत साता गठबन्धनभित्रैबाट केही सांसदहरूले अविश्वास प्रस्ताव ल्याउने तयारी गरेपछि राजीनामा अपरिहार्य भएको थियो ।
प्रदेशसभाको विशेष बैठकमा सिंहले मन्तव्य दिंदै भने, ‘जनताको विश्वास लिएर आएको सरकारलाई राजनीतिक अस्थिरता र आन्तरिक द्वन्द्वले काम गर्न नदिएको अवस्थामा म पदबाट राजीनामा दिनु उचित ठान्दछु ।’
उनले सरकारको अवधिमा भएका उपलब्धिहरूको संक्षिप्त चर्चा गर्दै आफूले सकेसम्म निष्पक्ष र जनमुखी नेतृत्व दिन खोजेको दाबी गरे ।
मुख्यमन्त्री सिंहको राजीनामापछि मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएको छ । संविधानको धारा १६८ अनुसार अब प्रदेश प्रमुखले बहुमत प्राप्त गर्ने सांसदलाई नयाँ मुख्यमन्त्रीको रूपमा नियुक्त गर्न राजनीतिक दलहरूलाई आह्वान गर्नेछन् ।
यसैबीच, प्रमुख दलहरूबीच सत्ता गठबन्धन पुनः निर्माणका लागि छलफल तीव्र रुपमा भइरहेको स्रोतहरू बताउँछन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


