कार्यव्यवस्था परामर्श समितिको तयारी बैठक सम्पन्न

जनकपुरधाम, २७ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह भोलि मंगलबार प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् ।
नयाँ राजनीतिक समीकरण बनेपछि संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार उनले प्रदेशसभामा उपस्थित भएर बहुमत प्राप्त गर्ने प्रयास गर्न लागेका हुन् ।
विश्वासको मतको तयारीका लागि सोमबार प्रदेश सभा सचिवालयमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ । सभामुखको अध्यक्षतामा बसेको बैठकमा विभिन्न दलका संसदीय दलका नेता, उपसभामुख, सचिवालयका उच्च अधिकारी तथा सम्बन्धित पक्षका प्रतिनिधिहरू सहभागी थिए ।
बैठकले भोलि दिउँसो १ बजेका लागि प्रदेश सभाको बैठक तय गरेको र कार्यसूची अन्तर्गत मुख्यमन्त्री सिंहले विश्वासको मत प्रस्ताव प्रस्तुत गर्ने निर्णय भएको सचिवालयले जनाएको छ ।
मुख्यमन्त्री सिंहले नेपालको संविधानको धारा १८८ को उपधारा (२) अनुसार विश्वासको मत लिने तयारी गरेका हुन् । उनले प्रदेश सभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम १४३(४) बमोजिम वक्तव्यसहित प्रस्ताव पेश गर्नेछन् ।
हाल सिंह नेतृत्वको सरकार जनमत पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी नेपालको समर्थनमा सञ्चालन हुँदै आएको थियो । तर, पछिल्ला राजनीतिक घटनाक्रमले सत्तारूढ गठबन्धनमा अस्थिरता देखापरेको छ ।
सभामुख रामचन्द्र मण्डलले भने, ‘आजको बैठकले भोलिको कार्यतालिका र सबै प्रक्रिया टुङ्ग्याएको छ । अब सम्पूर्ण ध्यान विश्वासको मतको परिणाममा केन्द्रित छ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


