जनकपुरधाम, २७ असोज । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि मधेशमा देखिएको राजनीतिक सुस्तता र मौनतालाई तोड्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्नो पहिलो प्रदेश अधिवेशनमार्फत पुनः राजनीतिक गतिशीलता ल्याएको छ ।

जनकपुरधामस्थित महेन्द्र नारायण निधि सांस्कृतिक केन्द्रमा जारी दुई दिवसीय मधेश प्रदेश अधिवेशनले मधेशको राजनीति पुनः ताताएको छ ।

आठवटै जिल्लाका करिब पाँच सय प्रतिनिधि र एक हजारभन्दा बढी नेता कार्यकर्ताको उपस्थितिसहित आयोजित अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले गरेका हुन् । उद्घाटन सत्र भव्य रूपमा सम्पन्न भएको छ भने बन्द सत्र मंगलबार सोही स्थलमा हुने कार्यक्रम रहेको छ ।

कार्यक्रममा सहभागी नेताहरूले हालको राजनीतिक अवस्थालाई मधेश पुनः एकतामा जोड्ने अवसरका रूपमा चित्रण गरेका छन् । उनीहरूले परिवर्तनका उपलब्धी जोगाउन, संविधान र संघीयता सुदृढ पार्न र मधेशको अधिकार सुनिश्चित गर्न उपेन्द्र यादवकै नेतृत्व अपरिहार्य रहेको एक स्वरमा बताएका छन् ।

पार्टीका वरिष्ठ नेता रामकुमार शर्माले भने, ‘देशको सत्ता काठमाडौँ र मधेशको राजनीतिक दिशाले नै निर्धारण गर्छ । मधेशमा सशक्त र एकीकृत नेतृत्व स्थापनाको आवश्यकता अहिले झनै बढेको छ ।’ उनले थपे, ‘जुन बेला लाखौँ सदस्य भएका दलहरू निष्क्रिय छन्, त्यस बेला जसपा सक्रिय रूपमा जनताबीच छ भन्ने कुरा आफैंमा सकारात्मक संकेत हो ।’

अधिवेशनमा नेताहरूले मधेशमा पुनः एकता र वैचारिक स्पष्टतामा आधारित आन्दोलनको तयारी सुरु गर्नुपर्ने बताएका छन् । उनीहरूले संघीयता, समावेशिता र पहिचानको आन्दोलन अधुरो रहेको भन्दै त्यसलाई पूरा गर्न पार्टीले अग्रसर भूमिका खेल्ने वाचा गरे ।

अधिवेशनको अर्को आकर्षण पार्टीभित्रको नयाँ नेतृत्व चयन हो । मधेश प्रदेशमा नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष बालकिशोर यादव र युवा नेता तथा केन्द्रीय सदस्य योगेन्द्र रायबीच प्रतिस्पर्धा हुने सम्भावना रहेको छ । दुवै नेताले पार्टीलाई जनस्तरमा विस्तार गर्दै मधेशको मुद्दा बलियो रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रम स्थलमा प्रदेशका विभिन्न जिल्लाबाट आएका कार्यकर्ताहरूको उत्साहपूर्ण उपस्थिति देखिएको छ । झण्डा, पोस्टर, सांस्कृतिक प्रस्तुति र नारा–जुलुसले अधिवेशनको वातावरण उत्सवमय बनेको छ ।