जनकपुरधाम, २७ असोज । मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

प्रदेश प्रमुखको कार्यालय जनकपुरधामले सोमबार एक विज्ञप्ति जारी गर्दै लोसपा नेपालले दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको जानकारी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गठन भएको मधेश प्रदेश सरकारलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालले दिएको समर्थन आजकै मितिबाट फिर्ता लिइएको व्यहोरा जानकारीका लागि अनुरोध छ ।’

विज्ञप्तिमा लोसपाको तर्फबाट प्रदेश प्रमुखको कार्यालयमा पत्र बुझाउने काम पार्टीका प्रदेश संसदीय दलका तर्फबाट गरिएको बताइएको छ ।

लोसपाको समर्थन फिर्तासँगै मधेश प्रदेश सरकार संकटमा परेको छ । मुख्यमन्त्री सिंहले भोलि प्रदेश सभामा विश्वासको मत लिनुपर्ने तय भइसकेको छ । बहुमत गुमेमा संविधानको धारा १६८ अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।