जनकपुरधाम, २७ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मंगलबार प्रदेश सभामा विश्वासको मत लिँदै छन् ।

प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत दिउँसो १ बजे बस्ने बैठकको प्रमुख कार्यसूचीकै रूपमा विश्वासको मत प्रस्ताव प्रस्तुत गरिने भएको हो ।

प्रदेशसभा सचिवालयद्वारा सार्वजनिक गरिएको दैनिक कार्यसूचीअनुसार मुख्यमन्त्री सिंहले नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम प्रदेश सभाबाट विश्वास प्राप्त गर्न प्रस्ताव पेश गर्नेछन् ।

प्रस्ताव प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १४३ को उपनियम (४) अनुसार बक्तव्यसहित प्रस्तुत गरिने सचिवालयले जनाएको छ ।

विश्वासको मत प्रस्तावमाथि प्रदेशसभा सदस्यहरूले छलफल गर्ने र अन्ततः निर्णयार्थ प्रस्तुत गरिने तय भएको छ ।

सत्तारूढ गठबन्धनमा रहेका केही दलहरूले समर्थन फिर्ता लिँदै सरकारको स्थायित्वमा प्रश्न उठाएपछि मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुपर्ने स्थिति उत्पन्न भएको हो ।

मुख्यमन्त्री सिंहले बहुमत प्राप्त गर्न नसकेमा संविधानको धारा १६८ अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

प्रदेशसभा सचिव बासु प्रसाद कोइरालाले भने, ‘मंगलबारको बैठकको मुख्य एजेन्डा विश्वासको मत प्रस्तावमाथि छलफल र निर्णय नै हो । सबै तयारी पूरा भइसकेको छ ।’

प्रदेशसभामा १०५ सदस्य छन् । बहुमतका लागि कम्तीमा ५४ मत आवश्यक पर्छ । सिंहको पक्षमा आवश्यक समर्थन जुट्ने वा नजुट्ने भन्ने विषयमा दलहरूमाझ आन्तरिक कसरत तीव्र भएको छ ।