काठमाडौं, २४ असोज । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका प्रतिनिधिहरूलाई समेट्दै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आगामी सोमबारसम्म शपथग्रहण हुने गरी चार जना नयाँ मन्त्रीहरूको नाम टुंगो लागेको छ ।

नयाँ मन्त्री बन्नेमा जेनजी आन्दोलनका सक्रिय चार युवा रामजी राम, गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, र टासी ल्हाजोम रहेका छन् ।

प्रधानमन्त्री कार्कीले उनीहरूलाई क्रमशः स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेकी छन् ।

रौतहटका रामजी राम चमार समुदायबाट पहिलो डाक्टर बनेका व्यक्ति हुन् । अध्ययनकालमा कलेजले अतिरिक्त शुल्क माग्दा समेत संघर्ष गर्दै उनले एमबीबीएस पूरा गरेका थिए । त्यही संघर्षका कारण उनी सामाजिक सञ्जालमा चर्चामा आएका थिए । स्रोतका अनुसार डाक्टर रामलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिने तयारी अन्तिम चरणमा पुगेको छ । रामले आफू जस्तै पिछडिएका वर्गका युवालाई स्वास्थ्य क्षेत्रमा प्रवेश गर्न प्रेरित गर्ने अभियान चलाउँदै आएका छन् ।

गणपतिलाल श्रेष्ठ लामो समयदेखि सांस्कृतिक सम्पदाको संरक्षणमा सक्रिय अभियन्ता हुन् । भूकम्पपछिको पुनर्निर्माणका क्रममा रानीपोखरी, पशुपति क्षेत्र र खुलामञ्चमा भएको व्यापारीकरण र कंक्रीटीकरणको विरोध गर्दै आएका श्रेष्ठले संस्कृति मन्त्रालय सम्हालेपछि सम्पदामै पहिचान अभियानलाई सरकारी प्राथमिकता दिने तयारी गरेका छन् ।

त्यस्तै, बब्लु गुप्ता कोभिड–१९ महामारीका समयमा निःशुल्क खाना अभियान सञ्चालन गरेर परिचित बनेका सामाजिक अभियन्ता हुन् । उनले ‘हन्ड्रेड ग्रुप’ नामक संगठनमार्फत करिब ११० विद्यार्थीलाई निःशुल्क शिक्षा सहयोग पुर्याइरहेका छन् । साथै, बिरामीका लागि रगत खोज्ने अभियानमा समेत सक्रिय रहेका गुप्ता जेनजी आन्दोलनका अग्रपंक्तिका युवामध्ये एक हुन् । स्रोतका अनुसार उनी युवा तथा खेलकुद मन्त्रालय सम्हाल्ने तयारीमा छन् ।

हुम्लाको लिमि भ्यालीकी टासी ल्हाजोम जलवायु परिवर्तनका विषयमा सक्रिय युवा हुन् । दिल्ली विश्वविद्यालयको हिन्दु कलेजकी स्नातक टासीले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण देखिएका कठिनाइबारे राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा निरन्तर आवाज उठाउँदै आएकी छन् । प्रधानमन्त्री कार्कीले उनलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेकी छन् । तर, टासीको नाममा प्रधानमन्त्रीले अझै अन्तिम छलफल गरिरहेकी जानकारी पनि प्राप्त भएको छ ।

प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा सक्रिय अन्य युवाहरूलाई पनि प्रधानमन्त्रीको सचिवालयमा सल्लाहकारका रूपमा समावेश गर्ने तयारी गरेकी छन् । उनका अनुसार जेनजी पुस्ताको ऊर्जा र दृष्टिकोण राज्य संरचनामा ल्याएर अन्तरिम सरकारलाई समावेशी र भविष्यमुखी बनाउने लक्ष्य राखिएको छ ।

गत २७ भदौमा अन्तरिम सरकारको नेतृत्व समालेकी प्रधानमन्त्री कार्कीले यसअघि दुई पटक मन्त्रिपरिषद् विस्तार गरिसकेकी छन् । अहिले उनको नेतृत्वमा आठ सदस्यीय मन्त्रिपरिषद् रहेको छ । विस्तारपछि यो १२ सदस्यीय हुनेछ ।

जेनजी आन्दोलनपछि बनेको यो अन्तरिम सरकारलाई विश्लेषकहरूले नयाँ पुस्तालाई शासन संरचनामा ल्याउने प्रयोगको रूपमा मूल्यांकन गरेका छन् । प्रधानमन्त्री कार्कीले भने आन्दोलनको भावनालाई संस्थागत गर्दै समावेशी शासन निर्माण गर्ने प्रतिबद्धता सार्वजनिक गरेकी छन् ।