महोत्तरी, २४ असोज । हालैको अविरल वर्षा र बाढीले ठूलो जनधनको क्षति बेहोरेको महोत्तरी जिल्लाका बाढीपीडितलाई स्थानीय तह र सहयोगी संस्थाहरूले घरदैलोमै पुगेर राहत वितरण गर्न थालेका छन् ।

असोज १८ गतेदेखि २० गतेसम्म लगातार परेको वर्षाबाट बर्दिबास, औरही र जलेश्वरसहितका स्थानीय तहहरूमा ठूलो क्षति पुगेको थियो ।

बर्दिबास नगरपालिकाका विभिन्न वडाका ५० र औरही नगरपालिकाका ६१ गरी कुल १११ परिवारलाई राहत वितरण गरिएको छ । सो क्रममा नगरप्रमुख प्रह्लाद क्षेत्री, उपप्रमुख तारादेवी महतो, वडाध्यक्षहरू र सहयोगी संस्थाका पदाधिकारीहरूले बाढीपीडितको घरमै पुगेर अवस्थाको अवलोकन गर्दै राहत वितरण गरेका हुन् ।

वितरण गरिएका राहत सामग्रीमा आवासका लागि ‘सेल्टर किट’, भान्साका भाँडाकुँडा, स्वच्छता सामग्री (हाइजिन किट), झुल, साथै गर्भवती र सुत्केरी महिलाहरूका लागि ‘डिग्निटी किट’ समावेश छन् । यी सामग्रीहरू सेभ द चिल्ड्रेनले जिल्ला विपद् व्यवस्थापन समिति, सम्बन्धित पालिकाहरू र स्थानीय साझेदार संस्था रतौली युवा क्लब तथा सामुदायिक विकास तथा पैरवी मञ्च नेपालको सहकार्यमा वितरण गरेको हो ।

यसैबीच, बर्दिबास नगरपालिका, रेडक्रस र रोटरी क्लब बर्दिबासले पनि राहत अभियान सञ्चालन गरेका छन् । उनीहरूले प्रतिपरिवार २५ केजी चामल, २ केजी दाल, १ लिटर खानेतेल, एक कार्टुन चाउचाउ, नुन, बाल्टिन र साबुनलगायत सामग्री वितरण गरेका छन् । सबै राहत सामग्री स्थानीय तहको एकद्वार प्रणालीमार्फत वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

जिल्लाको दक्षिणी भेगमा रहेको जलेश्वर नगरपालिकामा पनि बाढी र डुबानबाट प्रभावित १ र ८ नं वडाका ११२ परिवारलाई राहत वितरण भइरहेको छ । सेभ द चिल्ड्रेनका सञ्चार संयोजक झम्केश्वर ओझाका अनुसार जलेश्वर क्षेत्रमा रतौली युवा क्लबमार्फत वितरण कार्य भइरहेको छ ।

रातु, भवसी र जंगाहा खोलाको बाढीले यी क्षेत्रमा ठूलो क्षति पुर्याएको थियो । सयौं परिवार विस्थापित भई अस्थायी टहरामा बस्न बाध्य भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बर्दिबास, औरही, भंगाहा, सीतापुर, बलवा, महोत्तरी, रामगोपालपुर, मटिहानी र सम्सीका २२८ परिवारका ८२६ जना बाढी र डुबानबाट विस्थापित भएका छन् ।

यसैबीच, जलेश्वर नगरपालिका–६ मा बाढीमा परेर ११ वर्षीय एक बालकको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । स्थानीय प्रशासनले सबै बाढी प्रभावित क्षेत्रको तथ्यांक संकलन जारी रहेको र आवश्यक परेमा दोस्रो चरणको राहत वितरणको तयारी भइरहेको जनाएको छ ।

स्थानीयवासीहरूले राहत वितरणका लागि सहयोगी निकाय र नगरपालिकाको तत्परताको स्वागत गरेका छन् । तर, दीर्घकालीन पुनःस्थापनाका लागि अझ ठोस कदम चाल्न सरकारसँग आग्रह गरेका छन् ।