सप्तरीमा ट्रक क्रेनको ठक्करबाट वृद्धको मृत्यु

सप्तरी, २४ असोज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका–२ चाँदनीचोकमा शुक्रबार बिहान ट्रक क्रेनको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । सडक निर्माण कार्यका लागि सिङ्गापुरबाट ल्याइएको ट्रक क्रेनले साइकलमा सवारी गरिरहेका स्थानीय बासिन्दालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार दुर्घटनामा परेर ७६ वर्षीय वमभोल चौधारीको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार बेहाई पुल नजिक पूर्वबाट पश्चिमतर्फ डोजर (स्काभेटर) बोकेर पछाडि सारिँदै गरेको ट्रक क्रेनले सोही दिशाबाट साइकलमा जाँदै गरेका चौधारीलाई पछाडिबाट ठक्कर दिएको थियो ।
दुर्घटनापछि स्थानीय बासिन्दा घटनास्थलमा पुगेका थिए । उनीहरूले केहीबेर सवारी सञ्चालनमा अवरोध गर्दै पीडितका परिवारलाई न्याय दिलाउन माग गरेका थिए ।
प्रहरीले चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ । ट्रक क्रेन सडक निर्माणका लागि प्रयोग भइरहेको थियो । तर, पछाडि सार्दा आवश्यक सावधानी नअपनाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
स्थानीयहरूले राजमार्गमा भइरहेको निर्माण कार्यमा सुरक्षामापदण्डको पालना नहुँदा दुर्घटनाको जोखिम बढेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । उनीहरूले भारी सवारी साधन सञ्चालनका क्रममा चेतावनी संकेत, सहायक चालकको व्यवस्था र ट्राफिक व्यवस्थापनमा सुधार गर्न माग गरेका छन् ।


