जनकपुरधाम, २४ असोज । हुलाक सेवा विभागले देशकै ऐतिहासिक र सांस्कृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण स्थल मटिहानीस्थित लक्ष्मीनारायण मन्दिर (मठ) को तस्बिर अंकित हुलाक टिकट सार्वजनिक गरेको छ । यो टिकट मटिहानीको धार्मिक, पौराणिक र सांस्कृतिक गौरवलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले प्रकाशन गरिएको हो ।

रु १० अंकित मूल्यको सो टिकटमा लक्ष्मीनारायण मन्दिरको भव्य दृश्य, स्थापत्य सौन्दर्य र बाहिरी संरचनाको चित्र समावेश गरिएको छ । सूचना तथा सञ्चार मन्त्री जगदीश पोखरेलले विशेष समारोहबीच टिकटमा टाँचा लगाउँदै औपचारिक रूपमा यसको प्रकाशन गरेका हुन् ।

समारोहमा मन्त्री पोखरेलले मटिहानीजस्ता ऐतिहासिक स्थलहरूको पहिचानलाई हुलाक टिकटमार्फत प्रवद्र्धन गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै भने, ‘हुलाक टिकट केवल सञ्चार माध्यम नभई यो हाम्रो सांस्कृतिक इतिहास र पहिचानको दस्तावेज हो । मटिहानीको गौरव अब राष्ट्रिय हुलाक इतिहासमा अंकित भएको छ ।’

मटिहानी नगरपालिकाले लक्ष्मीनारायण मन्दिरको महत्व उजागर गर्न २०८१ साल असार ११ गते हुलाक सेवा विभागमा टिकट प्रकाशनका लागि प्रस्ताव पेश गरेको थियो । सो प्रस्ताव स्वीकृत भएपछि विभागले विस्तृत अध्ययन, डिजाइन र मूल्याङ्कन प्रक्रिया पूरा गरी टिकट तयार गरेको हो ।

नगर प्रमुख हरि प्रसाद मण्डलले टिकट प्रकाशन भएकोमा खुशी व्यक्त गर्दै हुलाक सेवा विभाग र सूचना मन्त्रालयप्रति आभार प्रकट गरे । उनले भने, ‘लक्ष्मीनारायण मठ हाम्रो नगरको गौरव हो । यो टिकट प्रकाशनले मटिहानीको सांस्कृतिक पहिचानलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा पुर्याउनेछ ।’

लक्ष्मीनारायण मन्दिर (मठ) धार्मिक, पौराणिक र ऐतिहासिक रूपमा अत्यन्त विशिष्ट स्थल मानिन्छ । यो मन्दिरलाई राजगुठीको रूपमा संरक्षण गरिएको छ र प्रत्येक वर्ष हजारौं तीर्थालु यहाँ दर्शन र पूजाका लागि आउने गर्छन् । विशेष गरी श्रीकृष्ण जन्माष्टमी, रामनवमी र विभिन्न वैष्णव पर्वका अवसरमा यहाँको धार्मिक माहोल अत्यन्त उत्साहपूर्ण रहने गर्छ ।

स्थानीय बासिन्दा र धार्मिक व्यक्तित्वहरूले मटिहानीको ऐतिहासिक सम्पदालाई राष्ट्रिय गौरवका रूपमा स्थापित गर्न हुलाक टिकटले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

अब मटिहानीको लक्ष्मीनारायण मन्दिर केवल धार्मिक स्थलको रूपमा मात्र नभई नेपालको सांस्कृतिक धरोहर र राष्ट्रिय प्रतीकका रूपमा पनि हुलाक टिकटमार्फत अमर हुनेछ ।