पर्सा, २४ असोज । वीरगंज महानगरपालिकाले अस्थायी, करार र ज्यालादारी कर्मचारीहरूको सेवाम्याद नथप्ने निर्णय गरेको छ । यस निर्णयसँगै स्वीकृत दरबन्दी बाहेक कार्यरत ती कर्मचारीहरूले असोज मसान्तदेखि आफ्नो कामकाज गर्न नपाउने भएका छन् ।

महानगरपालिकाले नेपाल सरकारको हालैको नीति तथा निर्देशनका आधारमा यो कदम चालेको हो । सरकारले प्रशासनिक खर्च घटाउने र गैर–आवश्यक रूपमा राखिएका अस्थायी कर्मचारीहरूलाई हटाउने नीति लिएको थियो । यसको कार्यान्वयनस्वरूप वीरगंज महानगरले यो निर्णय गरेको जनाएको छ ।

महानगरपालिकाका प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख सुनिल कुमार कर्णका अनुसार २०८२ असोज २१ गते बसेको कार्यपालिकाको बैठकले अस्थायी, करार र ज्यालादारी कर्मचारीको म्याद नथप्ने निर्णय गरेको हो । सोही अनुसार महानगरपालिकाले सार्वजनिक सूचना जारी गरी असोज मसान्तपछि ती कर्मचारीलाई कामकाजमा नलगाउन निर्देशन दिएको छ ।

कर्णले भने, ‘नेपाल सरकारको मन्त्रिपरिषद्, अर्थ मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जारी निर्देशनको पालना गर्दै महानगरले यो निर्णय गरेको हो । अबदेखि स्वीकृत दरबन्दीअनुसार मात्रै कर्मचारी परिचालन हुनेछ ।’

सरकारले २०८२ असोज ५ गते मन्त्रिपरिषद् बैठकबाट अनावश्यक रूपमा राखिएका अस्थायी र करार कर्मचारी हटाउने नीति लिएको थियो । त्यसपछि अर्थ मन्त्रालयले असोज ७ गते परिपत्र जारी गरी उक्त नीति कार्यान्वयनका लागि सबै निकायलाई निर्देशन दिएको थियो । त्यसैगरी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असोज ८ गते विज्ञप्ति जारी गर्दै स्थानीय तहहरूलाई समेत यो निर्णय पालना गर्न आग्रह गरेको थियो ।

वीरगंज महानगरको निर्णयले हाल विभिन्न शाखा, कार्यालय र सेवा केन्द्रमा कार्यरत सयौँ अस्थायी र करार कर्मचारी प्रभावित हुने देखिएको छ । यद्यपि, महानगरले आवश्यक सेवा सञ्चालनमा अवरोध नआओस् भन्ने उद्देश्यले वैकल्पिक व्यवस्थापनका तयारी गरेको जनाएको छ ।

स्थानीय कर्मचारी संघ र प्रभावित कामदारहरूले भने अचानक गरिएको यो निर्णयले बेरोजगारी बढ्ने र दैनिक प्रशासनिक काममा असर पर्ने चिन्ता व्यक्त गरेका छन् । उनीहरूले सरकार र महानगरसँग वैकल्पिक रोजगार व्यवस्था गर्न माग समेत गरेका छन् ।

महानगरका अधिकारीहरूले भने यो निर्णय नीति कार्यान्वयनको प्रक्रिया भएको र स्थायी दरबन्दीको सुदृढीकरणमार्फत प्रशासनिक कार्यक्षमता बढाउने उद्देश्य रहेको बताएका छन् ।

अब असोज मसान्तपछि वीरगंज महानगरपालिकामा स्थायी दरबन्दीमा रहेका कर्मचारीहरू मात्र सेवा सञ्चालनमा रहनेछन् ।