तीन महिनापछि नारायणी अस्पतालमा एन्टीरेबिज भ्याक्सिन उपलब्ध

पर्सा, २४ असोज । लामो अभावपछि वीरगंजस्थित नारायणी अस्पतालमा एन्टीरेबिज भ्याक्सिन (रेबीज विरुद्धको खोप) पुनः उपलब्ध भएको छ ।
करिब तीन महिनादेखि अभावमा रहेको उक्त खोप शुक्रवार अस्पतालमा पुगेपछि टोकाइपीडितहरूका लागि राहत मिलेको छ ।
अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार स्वास्थ्य सेवा विभागबाट चार सय भाइल एन्टीरेबिज भ्याक्सिन अस्पतालमा पठाइएको हो । प्रत्येक भाइलमा तीन डोज हुने हुँदा करिब चार सय जनाले उपचार सेवा पाउनेछन् ।
डा. सिंहले बताए अनुसार अस्पतालमा दैनिक सरदर १० देखि १५ जना मानिस कुकुर वा बिरालोको टोकाइका कारण भ्याक्सिनका लागि आउने गर्छन् । ‘लामो समयदेखि भ्याक्सिन नहुँदा बिरामीहरूलाई निजी क्लिनिक र अन्य सहरमा धाउनुपर्ने बाध्यता थियो,’ उनले भने ।
हाल उपलब्ध भ्याक्सिनले करिब एकदेखि डेढ महिनासम्मको माग धान्ने अनुमान गरिएको अस्पतालले जनाएको छ । यस अवधिमा सरकारले थप भ्याक्सिन पठाउने आशा राखिएको छ ।
नारायणी अस्पतालमा एन्टीरेबिज भ्याक्सिनको अभावका कारण स्थानीय बासिन्दाहरू विगत केही महिनादेखि समस्यामा परेका थिए । कतिपयले निजी स्वास्थ्य संस्थाबाट महँगो शुल्क तिरेर भ्याक्सिन लगाउनुपरेको अनुभव सुनाएका छन् ।
स्वास्थ्यकर्मीहरूले नियमित आपूर्तिको व्यवस्था नभएसम्म यस्तो समस्या पुनः दोहोरिन सक्ने भन्दै आवश्यक भ्याक्सिन आपूर्तिमा स्थायित्व ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

