सिरहामा २ सय १९ किलोभन्दा बढी गाँजा बरामद

सिरहा, २४ असोज । सशस्त्र प्रहरीले सिरहाको भगवान गाउँपालिका–२ स्थित बलान नदी किनारबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।
शुक्रबार बिहान नियमित गस्तीका क्रममा सशस्त्र प्रहरी बलको टोलीले लुकाइछिपाइ राखिएको अवस्थामा नौ बोरा गाँजा फेला पारेको हो ।
सशस्त्र प्रहरी बल सिरहाका प्रमुख नरेश भण्डारीका अनुसार बरामद गरिएको गाँजाको तौल करिब २ सय १९ किलो ४०० ग्राम छ । उनले भने, ‘गस्ती टोलीले नदी किनारमा कालो पोलिथिनका बोरा देखेपछि जाँच गर्दा त्यसभित्र ठूलो मात्रामा गाँजा फेला पर्यो ।’
प्रहरीका अनुसार गाँजा नदी किनारको झाडीभित्र लुकाइएको थियो । प्रारम्भिक अनुमान अनुसार गाँजा भारत तस्करी गर्न लुकाइएको हुनसक्ने आशंका गरिएको छ ।
बरामद गरिएको गाँजा आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ । साथै, गाँजा लुकाउने व्यक्ति वा समूहको पहिचान र खोजी कार्य तीव्र पारिएको सशस्त्र प्रहरीका प्रमुख भण्डारीले जानकारी दिए ।
सिरहा जिल्लाको बलान नदी क्षेत्र भारतसँग नजिक भएकाले यो मार्ग हुँदै लागुऔषध तस्करीको जोखिम उच्च रहेको सुरक्षास्रोतले जनाएको छ । पछिल्ला महिनाहरूमा पनि यस क्षेत्रमा सशस्त्र प्रहरीले पटक–पटक ठूलो परिमाणको गाँजा, चरेस र लागूऔषध बरामद गरेको थियो ।
स्थानीयहरूले पनि नदी किनार र सिमावर्ती इलाकामा प्रहरीले गस्ती बढाउनुपर्ने माग गरेका छन् ।

