जनकपुरधाम, २४ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आगामी असोज २८ गते मङ्गलवार प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् ।

नेकपा एमाले र नेपाली काँग्रेसले समर्थन फिर्ता लिएपछि सिंहको सरकार अल्पमतमा पुगेको छ । उनले संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिने प्रक्रिया अघि बढाएका हुन् ।

मुख्यमन्त्री सिंहले मधेश प्रदेशसभा सचिवालयलाई असोज २८ गते विश्वासको मतका लागि विशेष बैठक आह्वान गर्न औपचारिक पत्र पठाएका छन् । सचिवालयका अनुसार उक्त मितिमा प्रदेशसभा बैठक बस्नेछ र मुख्यमन्त्रीले आफ्नो सरकारलाई निरन्तरता दिने या नदिने निर्णय त्यसै दिन हुनेछ ।

वर्तमान सरकार एमाले, काँग्रेस, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को समर्थनमा बनेको थियो । तर, पछिल्ला राजनीतिक उतारचढावपछि एमाले, काँग्रेस र उनको आफ्नौ पार्टी जनमतलेसमेत समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सिंहको सरकार एक्कासी अल्पमतमा पुगेको हो ।

सिंह नेतृत्वको सरकारमा हाल लोसपाको मात्र औपचारिक समर्थन बाँकी छ । उनले प्रतिनिधित्व गर्ने जनमत पार्टीले समेत समर्थन फिर्ता लिएपछि पार्टीको संसदीय दलले ह्विप जारी गरी आफ्ना सांसदलाई विश्वासको मतमा तटस्थ रहन निर्देशन दिएको छ ।

मधेश प्रदेशसभामा हाल कुल १०७ मध्ये १०५ सदस्य रहेका छन् । विश्वासको मतका लागि कम्तीमा ५४ मत आवश्यक पर्छ । वर्तमान संख्यात्मक हिसाबले मुख्यमन्त्री सिंहलाई बहुमत जुटाउन चुनौतीपूर्ण देखिएको छ ।

यदि सिंहले विश्वासको मत प्राप्त गर्न सकेनन् भने संविधानको धारा १६८ अनुसार अर्को बहुमतको सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

यसैबीच, प्रमुख विपक्षी दलका नेताहरूले नयाँ सत्ता समीकरणबारे छलफल थालेका छन् भने मुख्यमन्त्री सिंहले ‘अन्तिम क्षणसम्म प्रयास गर्ने’ बताएका छन् ।

उनले भनेका छन्, ‘हामी संविधान र जनादेशअनुसार अघि बढिरहेका छौं । प्रदेशको हितका लागि स्थायित्व आवश्यक छ, त्यसैले सबै दलसँग छलफल जारी छ ।’

असोज २८ को प्रदेशसभा बैठकले मधेशको राजनीतिक दिशानिर्देश निर्धारण गर्ने सम्भावना देखिएको छ ।