जनकपुरधाम, १४ असोज । जनकपुरधामस्थित राजदेवी मन्दिरमा बोकाबलि सुरू भएको छ। राम मन्दिर परिसरसँगै रहेको राजदेवी मन्दिरमा राति ८:३३ बजेदेखि बोकाबलि सुरू भएको हो।

बोकाबलिअघि राजदेवी ममन्दिरमा निशा पूजा गरिएको थियो। राम मन्दिरका महन्त राम गिरीले निशा पूजा गरेका थिए। बोकाबलिअघि निशा पूजा गर्ने परम्परा रहेको छ।

राजदेवीमाताको मन्दिरमा वर्षको एकपटक बडादशैँको महाष्टमीका दिनमात्र बोकाबलि हुने गरेको छ।

मंगलबार राति भइरहेको बोकाबलिका लागि श्रद्धालुहरू बिहानैदेखि लाइनमा बसेका थिए। भाकल गरेका साथै अन्य व्यक्तिहरुले समेत महाष्टमीका राती राजदेवी मन्दिरमा बोकाबली गर्ने गरेका छन्। यहाँ बोकाबलीका लागि नेपालका साथै भारतबाट समेत श्रद्धालुहरु पुग्ने गरेका छन्।

अन्य वर्ष झैँ यस वर्षपनि हजारौंको संख्यामा राजदेवी मन्दिरमा बोकाबली हुने अनुमान पूजा समन्वय गर्दै आइरहेको महावीर युवा कमिटी र राम युवा कमिटीका पदाधिकारीहरुको छ।

महावीर युवा कमिटीका महासचिव भरत कुमार साहले यसपालि १६ देखि १७ हजारको हाराहारीमा बोकाबलि हुने अनुमान गरिएको बताए। उनले भने, ‘श्रद्धालुहरूको भीड बढी देखिएको छ। गत वर्षको भन्दा यसपालि बढी बोकाबलि हुने अनुमान गरेका छौँ। हाम्रो अनुमानअनुसार १६ देखि १७ हजारको हाराहारीमा बोकाबली हुन्छ।’

गत वर्ष राजदेवी मन्दिरमा १४ हजारभन्दा बढी बोकाबलि भएको थियो। बोकाबलिका लागि एक साताअगाडिदेखि रसिद काट्न सुरू भइसकेको महावीर युवा कमिटीले जनाएको छ।

मन्दिर परिसरमै रहेको गुठी संस्थान कार्यालयले प्रतिबोका रू. ३ सयको दरले रसिद काटिरहेको कमिटीले जनाएको छ। यसअघि रू. २ सय रहेकोमा गुठी संस्थानले यसपालि सय रूपैया वृद्धि गरेको छ। बोकाबलिका लागि शुल्क वृद्धि भएपछि कतिपयले विरोधसमेत गरेका छन्।

तर, महावीर युवा कमिटीले भने बोकाबलिका लागि दश वर्षपछि सय रूपैयाँ वृद्धि गरिएकोले विरोध गर्न नहुने बताएको छ। अध्यक्ष दीपक कुमार मिन्टुले पूजा व्यवस्थापन,रसज्जालगायतका कार्यका लागि खर्च बढेको अवस्थामा बोकाबलिको शुल्क वृद्धि गरिएको बताए। बोकाबलिबाट उठ्ने पैसा गुठी संस्थान, महावीर युवा कमिटी र राम युवा कमिटीबीच भागबन्डा हुने गरेको छ।

महावीर युवा कमिटीका अध्यक्ष साहले यसपालि राजदेवी मन्दिरमा पूजाआजाका लागि सरसजावटलगायतका शीर्षकमा ४५ लाखभन्दा बढी खर्च हुने अनुमान रहेको बताए । बोकाबलि र स्थानीय व्यवसायी तथा महानगरपालिकाबाट प्राप्त भएको चन्दा सहयोगबाट यो खर्च व्यवस्थापन गरिने उनले जानकारी दिए।

बोकाबलिमा अत्याधिक भीडभाड हुने गरेकाले व्यवस्थापनका लागि जनकपुरधामका सबै युवा क्लबहरूको सहयोग लिने गरिएको अध्यक्ष मिन्टुले बताए। बोकाबलिलाई व्यवस्थित रूपमा सम्पन्न गर्न एक हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिएको उनको भनाइ छ।