–सिमा चौधरी
जनकपुरधाम, १४ असोज ।
करिब तीन दशकदेखि निरन्तर आयोजित हुँदै आएको मुरलीसरस्थित दुर्गा मन्दिरको पूजामा यसपटक व्यवस्थापनसम्बन्धी गम्भीर प्रश्न उठेका छन् ।

यो पूजामा अहिलेसम्म कुनै विवाद देखिएको थिएन । तर, यस वर्षको व्यवस्थापनप्रति भक्तजनले असन्तुष्टि व्यक्त गरेका छन् ।

धार्मिक विश्वासअनुसार भगवती दुर्गा आफ्नो पूजा स्वयं ग्रहण गर्छिन् भन्ने आस्थाले यहाँ प्रत्येक वर्ष हजारौँ भक्तजन उपस्थित हुने गर्दछन् । यसपटक पनि भव्यताका साथ पूजाको आयोजना भए तापनि व्यवस्थापन समितिको कमजोरीले गर्दा दर्शनार्थीहरू मारमा परेका छन् ।

दर्शनार्थीहरूको भनाइअनुसार समितिले भक्तजनलाई सहज सुविधा दिने काममा असफल भएको छ । दर्जनौँ स्वयंसेवक खटाइए पनि भक्तसँग व्यवहार गर्ने शैलीमा कमी देखिएको छ । कतिपयले समितिलाई ‘निरिह’ सावित भएको भन्दै आलोचना गरेका छन् ।

खोइँच भर्न पुगेकी एक श्रद्धालुले भनिन्, ‘नेतृत्व लिन सकेन भने लिनु हुँदैन । हामी भक्तजन घण्टौँ लाइनमा उभिन बाध्य छौँ । तर, समितिका आफन्तहरू सहजै भित्र पस्छन् ।’

भक्तजनले व्यवस्थापन समितिमाथि पक्षपात गरेको आरोप पनि लगाएका छन् । सामान्य दर्शनार्थीहरूलाई लामो लाइनमा उभ्याइने, तर समितिका सदस्य वा उनीहरूको परिवारलाई विशेष प्रवेश दिने कामले असन्तुष्टि बढाएको छ ।

‘नियम सबका लागि समान हुनुपर्छ । यो मन्दिर व्यक्तिगत सम्पत्ति होइन, सबैको श्रद्धा र आस्थाको केन्द्र हो,’ अर्को श्रद्धालुले टिप्पणी गरिन् ।

करीब तीस वर्षदेखि निरन्तर भव्य रूपमा आयोजित हुँदै आएको मुरलीसर दुर्गा पूजामा यसअघि कहिल्यै यस्ता प्रश्नचिन्ह उठेका थिएनन् । यसपटक भने समितिको कमजोर व्यवस्थापन, अनुशासन अभाव र पारदर्शितामाथि प्रश्न उठेपछि पूजाको गरिमा नै प्रभावित भएको स्थानीयले बताए ।

स्थानीय नागरिक समाज, युवाहरू र भक्तजनले आगामी वर्षदेखि व्यवस्थापनमा सुधार गर्न आवश्यक कदम चाल्नुपर्ने सुझाव दिएका छन् ।

स्वयंसेवकलाई व्यवहारिक तालिम दिने, परिवारवाद हटाउने, दर्शनार्थीका लागि समान नियम लागू गर्ने, व्यवस्थापन पारदर्शी र उत्तरदायी बनाउनेलगायतका कुरामा ध्यान नदिइए पूजा र मन्दिरको गरिमा नै घट्ने चेतावनी दिइएको छ ।