मेयर–उपमेयर विवादले नगराइन नगरपालिका ठप्प, युवाहरूले कार्यकक्षमै थुने

जनकपुरधाम, १० असोज । धनुषाको नगराइन नगरपालिका चार महिनादेखि मेयर र उपमेयरबीचको विवादका कारण ठप्प रहेको छ । नगरसभा नहुँदा विकासका कामदेखि दैनिक सेवा–सुविधा प्रभावित भएको छ । सेवाग्राही र स्थानीय युवा असन्तुष्ट छन् ।
शुक्रबार स्थानीय युवाहरूले मेयर र उपमेयरलाई कार्यकक्षमै थुनेर तत्काल नगरसभा बोलाउन दबाब दिएका छन् । स्थानीय युवा विश्वनाथ साहले भने, ‘जनप्रतिनिधिहरू नगरपालिकालाई बन्धक बनाएर राखेका छन् । जनताको कामकाज सहज हुन सकेको छैन ।’
उनीहरूको यस कदमलाई नेपाली काँग्रेस र नेकपा एमालेका स्थानीय नेता–कार्यकर्ताले समर्थन गरेका छन् । उनीहरूले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएर विवाद समाधान गरी नगरसभा आह्वान गर्न आग्रह गरेका छन् ।
नगरपालिकामा जारी विवादको मूल कारण स्थानीय सरकार सञ्चालन ऐन २०७४ संशोधनका विषयमा मेयर–उपमेयरको आपसी असहमति रहेको छ । उपमेयर संशोधन आवश्यक ठान्दा मेयर उच्च अदालतको आदेशका आधारमा संशोधन आवश्यक नरहेको तर्कमा अडिएका छन् ।
गत वर्ष पनि यस्तै विवादका कारण नगरको विकास निर्माणका बजेट फ्रिज भएको थियो । यस वर्ष पनि दशैँको मुखमा कर्मचारीले तलब नपाएको अवस्था सिर्जना भएको छ । स्थानीयवासीका अनुसार सडक, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा बजेट प्रयोग हुन नसक्दा सेवाग्राही समस्यामा परेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


