दशैंको रौनकमा सजिएको ‘जनकपुरधाम’

जनकपुरधाम, ५ असोज । मिथिला संस्कृतिको ऐतिहासिक केन्द्र जनकपुरधाम यस वर्षको दशैं पर्वमा झनै रौनक र आकर्षणसहित सजिएको छ । शहरका प्रमुख चोक, मठमन्दिर र गल्लीहरू रंगीन बत्ती र फूलमालाले सजिएका छन् भने पूजापाठ, मेलासहितका विविध कार्यक्रमहरूले वातावरणलाई हर्षोल्लासमय बनाएको छ ।
शहरका महावीर युवा कमिटी, राम युवा कमिटी, रामानन्द युवा क्लब लगायतका विभिन्न युवा समूहहरू यस पटक पनि विशेष सक्रिय देखिएका छन् । यी क्लबहरूले सार्वजनिक रूपमा देवीका प्रतिमासहितको पूजापाठ, सांस्कृतिक कार्यक्रम र मेलाको आयोजना गर्दै जनकपुरधामलाई धार्मिक मात्र नभई सामाजिक सद्भावको केन्द्र बनाइरहेका छन् ।
महावीर युवा कमिटीका महासचिव भरत साहका अनुसार यस वर्ष राजदेवी मन्दिरलाई भव्य सजावट गरिएको छ । दर्शनार्थीलाई सहज वातावरणमा पूजा गर्ने व्यवस्था मिलाइएको उल्लेख गर्दै उनले भने, ‘हाम्रो उद्देश्य धार्मिक आस्था मात्र नभई सामाजिक एकता र सांस्कृतिक पहिचानलाई पनि सुदृढ बनाउनु हो ।’
त्यस्तै, राम युवा कमिटीका महासचिव विजय साहले सुरक्षादेखि सरसफाइसम्मका तयारीबारे जानकारी दिँदै भने, ‘हामीले प्रशासन र प्रहरीसँग सहकार्य गर्दै मेलामा अनुशासन कायम गर्ने तयारी गरेका छौं ।’
रामानन्द युवा क्लबका प्रतिनिधिहरूले भने यस वर्ष विशेष गरी महिला र बालबालिकाको सहभागितालाई प्राथमिकतामा राखिएको बताए । उनीहरूको भनाइमा दशैं जस्तो ठूलो पर्वले सबै समुदायलाई एकताबद्ध गर्ने अवसर दिन्छ र युवा पुस्ताले यसको नेतृत्व गर्नुपर्ने आवश्यकता छ ।
जनकपुरधामका प्रमुख सडक र चोकहरूमा रंगीन बत्ती टाँगिएका छन् । बेलुकीपख झिलिमिली बत्तीले सजिएपछि शहरलाई ‘मधेशको सांस्कृतिक राजधानी’ भन्ने उपाधि झनै सजीव बनेको देखिन्छ ।
मठमन्दिरहरूमा दैनिक भजन–कीर्तनको गुञ्जन सुनिन्छ भने पूजा–आरतीमा सहभागी हुन स्थानीयवासीदेखि बाहिरका श्रद्धालुहरूको भीड लाग्ने गरेको छ । विशेष गरी राजदेवी मन्दिरमा भक्तहरूको भीड बढ्दो छ ।
जनकपुरधाम बजारमा समेत चहलपहल बढेको छ । कपडा, जुत्ता–चप्पल, पूजाका सामग्री, सजावटी सामान र मिठाइ पसलहरूमा ग्राहकहरूको भीड देखिन्छ । व्यापारीहरूले यस वर्ष गत वर्षको तुलनामा बिक्री–व्यापारमा उत्साहजनक वृद्धि हुने अपेक्षा राखेका छन् ।
यता, चाडपर्वमा हुने भीड व्यवस्थापनका लागि जनकपुरधाम उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनले संयुक्त सुरक्षा रणनीति तयार पारेका छन् । प्रमुख चोक र मन्दिर परिसरमा अतिरिक्त सुरक्षाकर्मी परिचालन, मेलामा स्वास्थ्य शिविर सञ्चालन र आपतकालीन सेवाहरू सजग राख्ने तयारी गरिएको छ ।
दशैं केवल धार्मिक पर्व मात्र नभई सामाजिक सद्भाव, आपसी एकता र सांस्कृतिक पहिचानलाई बलियो बनाउने अवसर पनि हो । युवा क्लबहरूको सक्रियता र प्रशासनको तयारीसँगै यस वर्षको दशैं जनकपुरधाममा अझै व्यवस्थित र आकर्षक हुने विश्वास गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


