जनकपुरधाम, ५ असोज । अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा जनकपुरधामको जनकचोकमा शान्ति, सहअस्तित्व र मानव अधिकारको सन्देशसहित दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रमको आयोजना ‘मानव अधिकारको लागि एकल महिला समूह’ले गरेको हो ।

कार्यक्रममा सहभागीहरूले सयौँ दीप प्रज्वलन गर्दै समाजमा बढ्दो हिंसा, विभाजन र असहिष्णुताविरुद्ध शान्ति, सहिष्णुता र सहकार्यको वातावरण बनाउन आह्वान गरेका थिए । समूहका प्रतिनिधिहरूले शान्तिपूर्ण सहअस्तित्वले मात्र दिगो विकास र मानव अधिकारको सुनिश्चितता सम्भव हुने धारणा राखे ।

दीप प्रज्वलन कार्यक्रममा स्थानीय महिला, युवा, विद्यार्थी, सरोकारवाला तथा विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरू सहभागी भएका थिए । उनीहरूले हातमा शान्ति सन्देश लेखिएका प्लेकार्ड बोकेर हिंसामुक्त समाज निर्माणको प्रतिज्ञा गरेका थिए ।

संयुक्त राष्ट्रसंघले सन् १९८१ देखि हरेक सेप्टेम्बर २१ तारिखलाई अन्तर्राष्ट्रिय शान्ति दिवसका रूपमा मनाउँदै आएको छ । यस वर्षको नारामा ‘शान्ति, सहिष्णुता र दिगो भविष्य’लाई प्राथमिकता दिइएको छ । नेपालमा पनि यस दिवसलाई विभिन्न शहरमा विविध कार्यक्रम गरेर मनाइँदै आएको छ ।

कार्यक्रमका वक्ताहरूले मानव अधिकार र शान्ति अविच्छिन्न सम्बन्धित रहेकोमा जोड दिए । उनीहरूको भनाइमा जबसम्म प्रत्येक नागरिकको सम्मान, न्याय र अवसरमा समान पहुँच हुँदैन तबसम्म शान्ति केवल नारामा सीमित हुन्छ ।

जनकपुरधामलाई ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्पदाले सम्पन्न शहरका रूपमा शान्तिको केन्द्र बनाउन सकिने धारणा पनि कार्यक्रममार्फत राखिएको थियो । सहभागीहरूले मिथिलाको सांस्कृतिक विविधतालाई सहिष्णुता र सहकार्यको उदाहरणका रूपमा प्रस्तुत गर्दै यसको संरक्षण गर्न जोड दिएका थिए ।