मधेश प्रदेशसभाको बैठक असोज ७ गते क्षतिग्रस्त भवनमै बस्ने

जनकपुरधाम, ४ असोज । लामो राजनीतिक विवाद र आन्दोलनपछिको अस्थिरता पछि मधेश प्रदेशसभाको बैठक आगामी असोज ७ गते मङ्गलवार दिउँसो १ बजे बस्ने निश्चित भएको छ ।
सभामुख रामचन्द्र मण्डलको अध्यक्षतामा शनिबार मधेश प्रदेश सचिवालयमा बसेको सर्वदलीय बैठकले सर्वसम्मत रूपमा बैठक आव्हान गर्ने निर्णय गरेको हो ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रमुख सचेतक कनिष पट्टेलका अनुसार संघीयता विषयमा देशभर बहस चलिरहँदा मधेश प्रदेशका सबै दलले साझा प्रतिबद्धता र सकारात्मक सन्देश प्रवाह गर्न बैठक बोलाइएको हो ।
सभामुख मण्डलले बैठकपछि पत्रकारहरूसँग भने, ‘संघीयता हाम्रो साझा उपलब्धि हो । यसको संरक्षण र सुदृढीकरणका लागि दलहरूबीच एकतालाई स्पष्ट पार्न बैठक आह्वान गरिएको हो ।’
यद्यपि, प्रदेशसभा भवन अहिलेसम्म जेनजी आन्दोलनका क्रममा भएको आगजनी, तोडफोड र लुटपाटबाट लागेको करिब ३० देखि ४० करोड रुपैयाँ बराबरको क्षतिको घाउ बोकेको छ । व्यापक पुनर्निर्माण अझै हुन नसकेको अवस्थामा सामान्य मर्मतसुधार गरेर बैठक सञ्चालन गर्नुपर्ने अवस्था आएको छ ।
हाल भवनभित्र क्षतिग्रस्त संरचनामा अस्थायी मर्मत भइरहेको छ । जनप्रतिनिधिहरूले प्लास्टिक कुर्सीमा बसेर बैठक सञ्चालन गर्ने तयारी पनि पूरा गरेका छन् । सर्वदलीय बैठकमा मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहसहित सबै दलका शीर्ष नेता सहभागी थिए । बैठकमा प्रदेशसभालाई नियमित र कार्यक्षम बनाउनु आवश्यक भएकोमा जोड दिइएको थियो ।
यसअघि जनमत पार्टीले आफ्ना मन्त्री फिर्ता बोलाएपछि प्रदेशमा राजनीतिक अनिश्चितता बढेको थियो । तर, असोज ७ गते बस्ने बैठकले प्रदेशसभाले पुनः काम सुरु गर्ने मात्र नभई संघीयता र लोकतान्त्रिक प्रक्रियाप्रतिको आफ्नो प्रतिबद्धता पनि देखाउने विश्वास लिइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


