जलेको प्रदेश सभा भवन पुनः सञ्चालनयोग्य बनाउन तयारी तीव्र

जनकपुरधाम, ४ असोज । मधेश प्रदेशसभाको बैठक असोज ७ गते बस्ने निश्चित भएपछि भौतिक पूर्वाधार क्षतिग्रस्त प्रदेशसभा भवनलाई पुनः सञ्चालनयोग्य बनाउन सरसफाइ र मर्मत कार्य तीव्र गतिमा भइरहेको छ ।
भदौ २३ र २४ गते जेनजी पुस्ताको आन्दोलनका क्रममा सभाको बैठक कक्षसहित अधिकांश संरचनामा आगजनी र तोडफोड भएकाले अब हुने बैठक सहज बनाउन विशेष तयारी भइरहेको हो ।
सभामुख रामचन्द्र मण्डलको अगुवाइमा प्रदेशसभा सचिवालयका कर्मचारी, सुरक्षाकर्मी र सर्वदलीय नेताहरू समेत सरसफाइ र व्यवस्थापनमा जुटेका छन् । बैठक कक्षभित्र जलेर बिग्रिएका सामग्री हटाइने, फर्निचर, ध्वनि प्रणाली र आवश्यक दस्तावेजहरूको पुनः व्यवस्था गरिने कार्यमा प्राथमिकता दिइएको छ ।
सभामुख मण्डलले आन्दोलनका कारण भएको क्षतिले प्रदेशसभाको गरिमा र कामकाजमा ठूलो धक्का पुगेको भन्दै अब हुने बैठकमार्फत स्थायित्व, संवाद र समाधानको बाटो खोजिने बताएका छन् । उनले प्रदेशसभाको बैठक समयमा सुरु गर्न सबै तयारी समयमै पूरा गरिने विश्वास व्यक्त गरे ।
यसैबीच, प्रदेशसभाको बाहिरी क्षेत्र र कार्यालय परिसर पनि सरसफाइ गरेर व्यवस्थित बनाइएको छ । प्रदेशसभा स्रोतका अनुसार तत्कालका लागि अस्थायी व्यवस्थाबाट भए पनि बैठक नियमित रूपमा सञ्चालन हुने व्यवस्था मिलाइनेछ ।
जनताले ढिलो चाँडो राजनीतिक स्थिरता र नीति निर्माणको अपेक्षा गरेको भन्दै सबै दलका नेताहरूले आगामी बैठकलाई संवेदनशील र जिम्मेवार ढंगले सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।







तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


