जेनजी आन्दोलनका शहीद परिवारलाई मधेश सरकारद्वारा साढे २ लाख राहत

जनकपुरधाम, ३ असोज । मधेश प्रदेश सरकारले जेनजी आन्दोलनमा शहादत प्राप्त गरेका शहीद परिवारलाई थप राहतस्वरूप प्रतिपरिवार दुई लाख पचास हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनमा शहादत प्राप्त गरेका मधेश प्रदेशका स्थायी बासिन्दा शहीदहरूलाई सम्मानपूर्वक सम्झना गर्दै परिवारलाई राहत रकम प्रदान गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयमा आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको प्रभावकारी उपचार सुनिश्चित गर्न सरकार गम्भीर रहने उल्लेख छ । त्यस्तै, आन्दोलनका क्रममा भएको अकल्पनीय भौतिक र मानवीय क्षतिप्रति दुःख प्रकट गर्दै सहानुभूति व्यक्त गरिएको छ ।
सरकारले जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ गरी सरकारी तथा निजी सम्पत्तिमा गरिएको तोडफोड, आगजनी र क्षतिको घटनामा संलग्न व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारबाही अघि बढाउनुपर्ने निष्कर्ष निकालेको छ ।
युवापुस्ताले अघि सारेका सुशासन र भ्रष्टाचार नियन्त्रणसम्बन्धी मागहरूको समाधान संविधानकै दायराभित्र रहेर खोजिनुपर्नेमा बैठकमा जोड दिइएको छ ।
प्रदेश सरकारले शहीदलाई श्रद्धाञ्जली अर्पण गर्दै लोकतान्त्रिक मूल्य र शान्तिपूर्ण आन्दोलनको रक्षा गर्न सबै पक्ष सचेत रहन आग्रहसमेत गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


