जनकपुरधाम, २५ भदौ । हिजोको आन्दोलन र आगजनीका घटनापछि जनकपुरधाममा आज अवस्था क्रमशः सामान्य हुँदै गएको छ । नेपाली सेनाको कमाण्डमा तीन तहका सुरक्षा फौज परिचालन भएपछि सार्वजनिक सम्पत्ति र जनताको सुरक्षामा महत्वपूर्ण सुधार आएको छ ।

बजार व्यवसाय सञ्चालन नभएपनि स्थानीय जनजीवन विस्तारै सहज हुन थालेको छ । साना तथा हल्का सवारी साधनहरू सञ्चालनमा आएका छन् भने नेपाली सेनाका गस्ती टोली, प्रहरी र अन्य सुरक्षा निकायका टोलीहरूले नगर क्षेत्रमा नियमित गस्ती गर्दैछन् । पैदल गस्ती पनि बढाइएको छ ।

मंगलबार भएको आन्दोलनका क्रममा मधेश भवन, जनकपुरधाम उपमहानगरपालिकाको नयाँ पाँच तले भवन, यातायात व्यवस्था कार्यालय, आन्तरिक राजश्व कार्यालय, भन्सार कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, वाल्मीकि प्रहरी चौकी, विभिन्न राजनीतिक दलका कार्यालय र मन्त्रिपरिषद्को कार्यालयमा व्यापक आगजनी, तोडफोड र लुटपाट भएको थियो ।

विशेषगरी उपमहानगरपालिकाको नयाँ भवनमा आगजनीका कारण सयौं ग्यास सिलिन्डर विस्फोट हुँदा भवन पूर्णरूपमा क्षति भएको छ । भवनमा रहेका कम्प्युटर, ल्यापटप, प्रिन्टर, कुर्सी–टेबललगायत सबै सामग्री चोरी गरिएको र आगो लगाइएको जनाइएको छ । भन्सार कार्यालयमा सयौँ मोटरसाइकल लुटिएको छ भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका कम्प्युटर र विद्युतीय उपकरण पनि चोरी भएका छन् ।

सुरक्षा निकायका अनुसार केही उच्छृंखल समूहले सार्वजनिक कार्यालयमा चोरी गर्ने प्रयास गर्दा स्थानीयवासीले उनीहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन् । यसै क्रममा नेपाली सेनाले मंगलबार रातिदेखि निरन्तर भएको आगजनी र लुटपाट नियन्त्रणमा लिँदै आएको छ ।

सेनाका अधिकारीहरूले अब स्थिति पूर्ण रूपमा नियन्त्रणमा रहेको र लुटपाट तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने गतिविधिहरूमा संलग्न व्यक्ति वा समूहमाथि कडा कारबाही गरिने चेतावनी दिएका छन् । सुरक्षा बलहरूले जनतालाई शान्ति कायम राख्न र कुनै अशान्ति फैलाउने प्रयास नगर्न चेतावनी दिएका छन् ।