जनकपुरधाम, २२ भदौ । गत शुक्रबार प्रतितोला २ लाख १० हजारमा कारोबार भएको सुनको मूल्य आइतबार २ हजारले बढेर २ लाख १२ हजार पुगेको छ । मूल्य ऐतिहासिक उचाइमा पुगे पनि जनकपुरधामका सुन पसलहरूमा कारोबार मन्दी देखिएको छ । सुन व्यवसायीहरूका अनुसार पछिल्लो समयमा सुन किनमेल गर्ने ग्राहकको संख्या अत्यन्तै घटेको छ ।

व्यापारीहरूले भने अनुसार विगतमा विवाह, तीज र अन्य पर्वको समयमा सुनको बजारमा भिडभाड हुने गरेको थियो । तर, यस वर्ष त्यस्तो भिडभाड देखिँदैन । ‘हाम्रो कारोबार करिब ९० प्रतिशतले घटेको छ । मूल्य वृद्धिसँगै सरकारले सुनलाई विलासी वस्तुका रूपमा वर्गीकरण गर्दै २ प्रतिशत ‘लक्जरी कर’ थपेपछि व्यापार सुस्त भएको हो,’ व्यापारीहरू बताउँछन् ।

गणपती ज्वेलर्सका सञ्चालक राजिव कुमार चन्दन सुनचाँदी व्यवसायमा आएको मन्दीप्रति चिन्तित छन् । उनले भने, ‘पहिला व्यापार राम्रै थियो । अहिले गत असार महिनादेखि चौपट छ । ग्राहक सुन किन्न आउँछन्, तर ‘लक्जरी कर’ सुनेर फर्किन्छन् । सरकारले नीति यस्तो बनायो कि व्यवसायीलाई विकल्प केही छैन ।’

राजिवका अनुसार व्यापारमा आएको मन्दीले कामदारलाई तलब दिन नसक्दा केही कर्मचारीले काम छोडेर विदेश जाने निर्णय लिएका छन् । उनी सुनचाँदी व्यवसायी संघ जनकपुरधामका उपाध्यक्षसमेत हुन् । उनले थपे, ‘सुनलाई कुनै पनि देशमा विलासी कर लगाइएको छैन । यो त्यस्तो सम्पत्ति हो जसको मूल्य पुस्तौंसम्म बढिरहन्छ । तर, यहाँ लक्जरी करको कारण ग्राहकलाई समस्या भएको छ ।’

त्यस्तै, शिवपार्वती ज्वेलर्सका सञ्चालक श्याम साह पनि मुख्य बिक्री सिजनमा व्यापार घटेको बताउँछन् । उनले भने, ‘तीजको समयमा हाम्रो पसलमा पहिले दैनिक भिड हुन्थ्यो । तर, यस वर्ष दिनमा छिटफुट ग्राहक मात्र आउँछन् । सुनको मूल्य सुनेर ग्राहक तर्सिन्छन् ।’

अर्का व्यवसायी बलराम साहले भने, ‘ग्राहक अब नेपालमा भन्दा भारततर्फ आकर्षित भएका छन् । भारतमा सुन किन्न सस्तो पर्छ । तर, गुणस्तरको ग्यारेन्टी हुँदैन । ग्राहक तत्काल मूल्य हेरेर त्यहाँ जाने गर्छन् । यसले हाम्रो व्यापार लगभग ठप्प बनाइदिएको छ ।’

व्यापारीहरूले सुनको भन्सार शुल्क नेपालमा १० प्रतिशत तिर्नुपर्छ । तर, भारतमा ६ प्रतिशत मात्र लाग्छ । थप २ प्रतिशत लक्जरी कर भएपछि ग्राहक सस्तोको खोजीमा भारत जाने गर्छन् । चन्दनका अनुसार भारतबाट सुन ल्याउँदा तोलामा करिब १२–१४ हजार रुपैयाँसम्म सस्तो पर्छ ।

कोरोना महामारीपछि व्यवसाय फिर्ता उठ्न थालेको समयमा सरकारले व्यापारीलाई उत्साहित गर्ने सट्टा निराश बनाएको व्यापारीहरूको गुनासो छ । राजिव भन्छन्, ‘यो अवस्था लामो समय रह्यो भने धेरै व्यवसायी विस्थापित हुनेछन् । यसको असर केवल व्यवसायीमा मात्र नभई समग्र अर्थतन्त्रमा पर्न सक्छ ।’

जनकपुरधाममा मात्रै नभएर देशभरका सुन पसलहरू व्यापारमा आएको मन्दीप्रति चिन्तित छन् । सुनको मूल्य उच्च भए पनि ग्राहकको घट्दो संख्याले व्यवसायीहरूको आशा कमजोर बनाएको छ । सुनचाँदी व्यवसायीहरू सरकारसँग कर नीति सुधारको माग गर्दै आएका छन् ।