पर्सा, २२ भदौ । देशकै पुरानो र प्रतिष्ठित शैक्षिक संस्थामध्ये एक मानिने पर्सास्थित ठाकुरराम बहुमुखी क्याम्पसमा नक्कली परीक्षार्थी फेला परेपछि शैक्षिक धाँधली, राजनीतिक हस्तक्षेप र प्रहरी प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ ।

स्नातकोत्तर (एम.ए) दोस्रो वर्ष राजनीतिक शास्त्र विषयको मौका परीक्षामा नेपाली कांग्रेस पर्सा क्षेत्र नं. २ का क्षेत्रीय सभापति मोहम्मद शाहबुद्दीन अन्सारीका छोरा मोहम्मद अफताब अन्सारी नक्कली परीक्षार्थीका रूपमा परीक्षामा सहभागी भएको प्रमाणित भएपछि पक्राउ गरिएको हो ।

परीक्षामा अर्कै व्यक्तिको नाममा उम्मेदवार देखिएपछि परीक्षापाल समितिले तत्काल प्रहरीलाई खबर गरेको थियो । क्याम्पस प्रमुख मोहन प्रसाद यादवले भने, ‘म नयाँ क्याम्पस प्रमुख भएकाले सबै परीक्षार्थीको प्रोफाइल अपडेटमा थिएन । तर, नक्कली परीक्षार्थी भेटिएपछि नियमअनुसार प्रहरीलाई जिम्मा लगाएका छौँ ।’ पक्राउ परेका नेतापुत्रलाई विर्ता प्रहरीमा राखिएको भए पनि प्रहरी प्रशासनले लामो समयसम्म आधिकारिक जानकारी दिन आनाकानी गरेको भन्दै आलोचना भइरहेको छ ।

पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले घटनाबारे संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘नक्कली परीक्षार्थी पक्राउ परेको पुष्टि भएको छ । क्याम्पसबाट लिखित जानकारी मागेका छौँ, त्यसपछि मात्र कारबाही अघि बढ्छ ।’ तर, परीक्षामा धाँधलीजस्तो संवेदनशील घटनामा प्रहरीले ढिलासुस्ती र गुप्तता अपनाएको भन्दै प्रहरीमाथि राजनीतिक दबाबमा परीक्षार्थीलाई उम्काउने तयारी भइरहेको आशंका गरिएको छ ।

पक्राउ परेका अन्सारीले पत्रकारलाई दिएको प्रतिक्रिया पनि भाइरल भएको छ । ‘म पक्राउ पर्दा तपाईंलाई के चासो?’ भन्ने उनको अभिव्यक्तिले घटनालाई अझै बढी राजनीतिक र सामाजिक बहसको विषय बनाइदिएको छ ।

यस घटनाले त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणाली नै प्रश्नचिन्हमा परेको छ । देशकै पुरानो र प्रतिष्ठित क्याम्पसमा नक्कली परीक्षार्थी सहजै प्रवेश पाउनु परीक्षाको सुरक्षा व्यवस्थामाथि गम्भीर शंका उत्पन्न भएको हो ।

त्यस्तै, लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्ने दाबी गर्ने नेपाली कांग्रेसकै नेतापुत्र परीक्षामा धाँधलीमा समातिनु पार्टीको नैतिकतामाथि धक्का मानिएको छ । प्रहरी प्रशासनको मौनता र ढिलासुस्तीले राज्य संयन्त्रमा राजनीतिक हस्तक्षेप रहेको देखाएको छ ।

‘स्पष्ट र निष्पक्ष कारबाही भए मात्र शिक्षा क्षेत्र र लोकतान्त्रिक मूल्यप्रति जनताको विश्वास कायम रहन सक्छ,’ एक प्राध्यापकले टिप्पणी गरे ।