चुरे विनाश र भूमि विधेयकले मधेश मरुभूमि बन्ने खतरा : अध्यक्ष यादव

सर्लाही, १९ भदौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले चुरे र वन विनाशका कारण मधेश मरुभूमि बन्न थालेको चेतावनी दिएका छन् ।
सदरमुकाम मलंगवामा आयोजित एकताको प्रथम जिल्ला अधिवेशन उद्घाटन समारोहमा अध्यक्ष यादवले जलस्रोतको धनी देशमा पानीको अभाव हुनु दुर्भाग्यपूर्ण भएको बताए ।
अध्यक्ष यादवले भने, ‘सुकुम्वासी व्यवस्थापनका नाममा वर्तमान सरकारले ल्याउने भूमि विधेयकले मधेशको जल, जंगल र जमीन सखाप पार्ने योजना बनाएको छ । चुरे विनाश गरेर बालुवा, ढुंगा–गिटीको अवैध कारोबारबाट केही व्यक्तिहरू अरबपति बनेका छन् भने चुरे विनाशले भूमिगत पानीको सतह समाप्त हुँदै गएको छ । जनता पानी नपाएर दुःख भोगिरहेका छन् ।’
उनले यो विधेयक राष्ट्र र मधेशविरोधी भएकाले मधेशी जनताले स्वीकार्न नहुने दाबी पनि गरे । अध्यक्ष यादवले थपे, ‘सरकारले भूमि विधेयक फिर्ता लिनुपर्छ । बलपूर्वक मधेशी जनतामाथि लागू गर्न खोजे मधेशी जनता चुप लागेर बस्दैनन् । मधेश अब सचेत भइसकेको छ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


