जनकपुरधाम, १९ भदौ । नेपाल निजामति कर्मचारी युनियनको ३५औं स्थापना दिवसको अवसरमा धनुषा जिल्लामा विविध कार्यक्रम आयोजना गरिएको छ । यसै अवसरमा कांग्रेस निकट युनियनले जनकपुरधामस्थित जनक चोकमा विशेष रक्तदान कार्यक्रम गरेको छ ।

युनियन धनुषाका अध्यक्ष धर्मराज पौडेलले कार्यक्रमको उद्धाटन गर्दै वर्तमान समयमा रगतको माग बढेको परिस्थितिमा रक्तदान कार्यक्रमले समुदायमा जीवनरक्षक सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् । उनले भने, ‘हामीले हाम्रो स्थापना दिवसको अवसरमा रक्तदान गर्दै समाज सेवा र जनताको भलाइमा योगदान पु¥याउने प्रयास गरेका छौं ।’

नेपाल निजामति कर्मचारी युनियनको स्थापना ३५ वर्षअघि भदौ १९ गते भएको थियो । निजामति कर्मचारीहरुको हक अधिकारको संरक्षण र आवाज उठाउने उद्देश्यले कांग्रेस निकट यस छाता संगठनको स्थापना गरिएको थियो । त्यसयता प्रत्येक वर्ष यही दिन विशेष कार्यक्रममार्फत स्मरण गर्दै आइरहेको छ ।

पौडेलले थपे, ‘निजामति कर्मचारीहरुको हक अधिकारको सवालमा छाता संगठनले पर्याप्त पहल नगर्दा कर्मचारीहरुमा असन्तुष्टि बढेको छ । स्थापना दिवसले युनियनका गतिविधि र समाज सेवा दुवैको प्रतिबिम्ब प्रस्तुत गर्दछ ।’

स्थापना दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा युनियनका सदस्य, स्थानीय कर्मचारी र स्वयंसेवकहरुको सक्रिय सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले रक्तदान गर्दै समाजमा सहयोग र मानवता प्रवद्र्धन गर्ने उदेश्य राखेका थिए ।