सप्तरी, १८ भदौ । मधेशवादी दलका शीर्ष नेताहरू दोस्रो पटक एउटै मञ्चमा देखिएका छन् । ६ दल मिलेर गठन गरेको संघीय लोकतान्त्रिक मोर्चाले बुधबार राजविराजमा आयोजना गरेको ‘वर्तमान राजनीतिक अवस्थाको सन्दर्भमा जनजागरण अभियान’ कार्यक्रममा महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, हृदयेश त्रिपाठी र बृषेश चन्द्र लाल लगायतका नेताहरू लामो समयपछि एउटै मञ्चमा सहभागी भए ।

मलेठ घटनापछि करिब ११ वर्षपछि पुनः मोर्चा गठन भएको र नेताहरूले अब उत्पीडितहरूको अधिकारका लागि मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । मोर्चामा हाल जनमत पार्टी सहभागी छैन ।

लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले अधिकार र पहिचानका लागि लडेका योद्धाहरूमाथि झुठा मुद्दा लगाई जेलमा राखिएको, मधेशलाई बजेट विभेद गरिएको र सरकार अधिकार दिने सवालमा उदासीन रहेको आरोप लगाए । उनले अब मिलेर अधिकार प्राप्ति र उपलब्धीको रक्षा गर्न सबैले आवाज उठाउनु पर्नेमा जोड दिए ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले भने, ‘स्वार्थका लागि फुटेर जाँदा मधेश कमजोर भएको छ । अब कुनै लोभ, लालच वा स्वार्थमा नपरी जायज मुद्दाको लागि एक जुट भइ अघि बढ्नु जरुरी छ ।’

यादवले मधेशबाट निर्वाचित सांसदहरूले सरकारको भुमि सम्बन्धि विधेयकप्रति मौन बसेर भविष्यमा मरुभूमीकरणको अवस्था सिर्जना भए त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।

राष्ट्रिय मुक्ती पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले काँग्रेस र एमालेले मधेशवादी दललाई कमजोर बनाउन ‘फुटाउ र राज गर’ नीति अपनाएको भन्दै उत्पीडितको अधिकार सुनिश्चित गर्न एकताबद्ध भएर सशक्त आन्दोलन आवश्यक भएको बताए । उनले लिपुलेक, कालापानी र लिम्पीयाधुराको समस्या कुटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिए ।

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले मधेशीहरू सामाजिक र राजनीतिक रूपमा विभाजित हुँदा ठूला दललाई सहज भएको र अब एक भएर अघि बढ्नुपर्ने औँल्याए । तमलोपा अध्यक्ष बृषेश चन्द्र लालले विगतका गल्ती सुधारेर मोर्चालाई बलियो बनाउन सबै दलहरूले इमान्दारीपूर्वक काम गर्नुपर्ने बताए ।

तमलोपा अध्यक्ष वृषेश चन्द्र लालले काँग्रेस एमाले लगायतका ठुला दलहरु मधेशवादी दल फुटाउने षडयन्त्रमा लागेको भन्दै विगतका गल्ती र कमीकमजोरी सुधारेर अब एक्यबद्धताका साथ अघि बढन आग्रह गरे । उनले मधेशमा बलियो तथा सशक्त राजनीतिक शक्ती निर्माणका लागि मोर्चा गठन भएको प्रष्ट पार्दै मोर्चा आबद्ध सम्पुर्ण दलहरुले इमान्दारीतका साथ लागेर काम गर्नू पर्ने आवश्यक्ता औँल्याए

कार्यक्रम राष्ट्रिय मुक्ती पार्टी नेपालका सह–महासचिव गजेन्द्र मण्डलद्वारा सञ्चालित र जिल्ला अध्यक्ष दिपेन्द्र चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा लोसपा नेता डा. आभाष लाल, प्रदेश सांसद किरण कुमारी साह, अनिरुद्ध प्रसाद सिंह यादव, राष्ट्रिय मुक्ती पार्टीका महासचिव केशव झा, जसपा केन्द्रीय सदस्य अमरनाथ मण्डल, विकास तिवारी लगायत मोर्चा आबद्ध ६ दलका नेताकर्मीहरूको उल्लेख्य उपस्थिती रहेको थियो ।