जनकपुरधाम, १८ भदौ । धनुषाको हंसपुर नगरपालिकामा विकासदेखि स्वास्थ्य, शिक्षा, खानेपानी र कृषि सिँचाइसम्मका क्षेत्रमा समस्या तीव्र बनेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नगर कार्य समितिले बुधबार २४ बुँदे मागसहित चेतावनी दिएको छ ।

नगरपालिकाले नीति, कार्यक्रम र बजेट समयमा कार्यान्वयन नगरेका कारण विकास कार्य अवरुद्ध भएको छ भने करिब ५२ हजार जनसंख्या प्रभावित भएको समितिको आरोप छ ।

लोसपा नगर अध्यक्ष एवम् पूर्व नगरप्रमुख रामज्ञान यादवले भने, ‘जनताले आधारभूत सेवासुविधा पाउन सकेका छैनन् । हैण्डपाइप, खानेपानी, स्वास्थ्य सेवा र शिक्षा क्षेत्र समस्याग्रस्त छ । नगरपालिकाले तत्कालै समाधान गर्नुपर्छ, नभए आन्दोलन अपरिहार्य हुन्छ ।’

उनका अनुसार सामाजिक सुरक्षा भत्ता, बालबालिकाको पोषण भत्ता र विद्यालय अनुदान वितरण ढिलो हुँदा वृद्धवृद्धा, विपन्न परिवार र विद्यार्थीलाई ठूलो मार परेको छ । दशैँ–तिहारअघि कर्मचारीलाई तलब र सेवा सुविधा सुनिश्चित गर्नुपर्ने मागसमेत समितिले राखेको छ ।

खानेपानी संकट दीर्घकालीन योजनाअनुसार समाधान गर्नुपर्ने, नगरभित्रका पानी ट्याङ्की मर्मत गरी सुचारु गर्नुपर्ने, सामुदायिक विद्यालय र सार्वजनिक स्थलमा हैण्डपाइप जडान गर्नुपर्ने, अभरहेड ट्याङ्कीको पानी तथा विद्युत् महसुल संकटग्रस्त अवस्थामा निःशुल्क गर्नुपर्ने माग गरिएको छ ।

त्यस्तै, कृषि विद्युतिकरण र सिँचाइ उपकरण सबै किसानलाई निःशुल्क उपलब्ध गराउनुपर्ने, धानबाली र बाझो खेत दुबैका किसानलाई राहत दिनुपर्ने, नदी–नाला तथा डिपबोर्ड सञ्चालनमा ल्याउनुपर्ने, वातावरणीय संकट रोक्न चुरे क्षेत्रको अवैज्ञानिक उत्खनन नियन्त्रण गर्नुपर्ने जस्ता मागहरू पनि रहेका छन् ।

लोसपाले स्वास्थ्य क्षेत्रमा सेवा प्रभावकारी बनाउन, बरथि सेवा सुचारु गर्न, दैनिक ज्यालामा काम गर्दै आएका कर्मचारीको समस्या समाधान गर्न जोड दिएको छ । साथै, निर्वाचित पदाधिकारीले व्यक्तिगत खर्चमा करको पैसा प्रयोग नगर्नुपर्ने र विगतमा दिइएको सूचना अनुसार भ्रष्टाचार नियन्त्रणमा ठोस कदम चाल्नुपर्ने चेतावनी पनि दिइएको छ ।

सभामा लोसपाका नगर सचिव विजय झा, केन्द्रीय सदस्य भोलानाथ झा, जिल्ला उपाध्यक्ष झपसी मण्डल, जिल्ला सदस्य इस्लाम कवाडी, लालबाबु यादव, उदय कुमार सिंह, रामसेवक मण्डल, मिना मण्डललगायतको सहभागिता थियो । समितिले मधेश प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिलाई समेत तत्काल ध्यान दिन आग्रह गरेको छ ।