जनकपुरधाममा असोज ६ देखि दशैं बजार लाग्ने

जनकपुरधाम, १८ भदौ । प्रत्येक वर्षझैं यस वर्ष पनि विजयादशमीलाई लक्षित गरी जनकपुरधाममा विशेष दशैं बजार लाग्ने भएको छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा सञ्चालन हुने यो बजार असोज ६ गते घटस्थापनादेखि गोपाल धर्मशालामा सुरु हुनेछ ।
बजारलाई व्यवस्थित बनाउन बुधबार सरोकारवाला निकायहरूको सहभागितामा सर्वपक्षीय बैठक बसेको छ । बैठकमा बजार अनुगमन, उपभोक्तालाई उपलब्ध हुने सामग्रीको गुणस्तर परीक्षण, सुरक्षा व्यवस्था र समग्र व्यवस्थापनबारे विस्तृत छलफल गरिएको जनकपुरधाम उद्योग वाणिज्य संघले जनाएको छ ।
संघका अध्यक्ष सुरेन्द्र भण्डारीका अनुसार यस वर्ष दशैं बजारमा १५ देखि २० वटा अतिरिक्त स्टल थप्ने तयारी छ । उनका अनुसार, ‘अघिल्ला वर्षमा करिब ८५ वटा स्टलसम्म लाग्ने गरेको भए पनि यसपटक व्यवस्थापन र स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै बजार सञ्चालन गर्न लागिएको हो ।’
बजारमा साबुन, अगरबत्ती, डिटरजेन्ट पाउडर, खाद्य सामग्रीलगायतका नेपाली उत्पादनलाई विशेष प्राथमिकताका साथ प्रदर्शनी तथा बिक्रीमा राखिने तयारी गरिएको छ ।
जनकपुरधाममा दशैं बजार लाग्ने परम्परा करिब ४० वर्ष पुरानो हो । यस वर्ष पनि आयोजकहरूले उपभोक्तालाई सुरक्षित, व्यवस्थित र गुणस्तरीय सामान उपलब्ध गराउने लक्ष्य लिएको जनाएका छन् ।
अध्यक्ष भण्डारीले आगामी दिनमा जनकपुरधाममा रात्रिकालीन बजार सञ्चालन गर्ने सम्भावनाबारे पनि छलफल शुरु भएको जानकारी दिए । उनका अनुसार यसले स्थानीय उत्पादनको बजार विस्तारमा टेवा पुग्ने र उपभोक्तालाई अझ सहज सुविधा दिने विश्वास लिइएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


